• २०८३ मङ्सिर १ मंगलबार

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ।

भेटमा मन्त्री श्रेष्ठले राजदूत दलेलालाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन ऊर्जा तथा जलस्रोतका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।

भेटका क्रममा भूमिगत जलस्रोतको पुनर्भरणसम्बन्धी अध्ययन तथा अनुसन्धानमा दुई देशबीच सहकार्य गर्ने विषयमा छलफल भएको छ। त्यस्तै, अन्तरदेशीय विद्युत् प्रसारण पूर्वाधार विस्तार, निर्माणाधीन परियोजना निर्धारित समयमै सम्पन्न गर्ने तथा विद्युत् निर्यातको सीमा बढाउन आवश्यक सहजीकरण गर्ने विषयमा पनि विचारविमर्श भएको छ ।

नेपालमा सौर्य ऊर्जाको विकास तथा विस्तारका लागि भारतीय पक्षसँग सहकार्य गर्ने सम्भावनाबारे समेत छलफल भएको छ । दुवै पक्षले ऊर्जा तथा जलस्रोतका क्षेत्रमा आपसी सहकार्यलाई थप प्रभावकारी बनाउँदै द्विपक्षीय हितका आयोजनालाई गति दिनुपर्नेमा जोड दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै