काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले संघको निर्वाचन प्रक्रिया अघि बढाउनेदेखि यू–१५ फुटबल टोलीका खेलाडीलाई नगद पुरस्कार प्रदान गर्नेसम्मका निर्णय गरेको छ ।
एन्फाले हालको प्रशिक्षण कार्यक्रम सुधार गर्ने, एकेडेमीको अवस्था र बजेटबारे प्रतिवेदन माग्ने तथा दशौँ राष्ट्रिय खेलकुदमा फुटबलतर्फको प्राविधिक व्यवस्थापनमा सहयोग गर्ने निर्णयसमेत गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एकता कम्प्लेक्समा शनिबार बसेको एन्फा बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गरेको हो । बैठकले यसअघि कात्तिक १३ गते बसेको कार्यसमिति बैठकका निर्णय कार्यान्वयन तथा अन्य प्रशासनिक विषयमा पनि छलफल गरेको थियो ।
बैठकले २०८२ वैशाख २६ गते काठमाडौँको दशरथ रंगशालामा सम्पन्न एन्फाको नियमित साधारणसभाको निर्णय तथा निर्देशनअनुसार निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
यसअघि २०८२ पुस १६ गतेको कार्यसमिति बैठकले निर्वाचनसम्बन्धी निर्णय स्थगित गरेकोमा त्यसलाई संशोधन गर्दै २०८३–२०८७ कार्यकालका लागि एन्फा तथा जिल्ला संघहरूको नियमित निर्वाचन प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको हो। नयाँ नेतृत्व चयनका लागि आवश्यक स्वीकृति, एन्फाको निलम्बन फुकुवा, संघको स्वच्छता र स्वाधीन निर्णय कार्यान्वयनमा सहयोग गर्न सम्बन्धित पक्षसँग अनुरोध गर्ने निर्णयसमेत भएको छ ।
त्यस्तै, फिफा यू–१५ विश्व फुटबल महोत्सवमा सहभागी भएर उत्कृष्ट नतिजा निकालेको नेपाली टोलीका खेलाडीलाई सम्मान गर्ने निर्णय गरिएको छ । आगामी २०८३ साल माघ महिनामा यू–१५ फुटबल महोत्सव आयोजना गर्ने र त्यसको संयोजनको जिम्मेवारी उपाध्यक्ष विराटजंग शाहीलाई दिने निर्णय भएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा प्रशिक्षकलाई जनही ५० हजार रुपैयाँ र पदाधिकारीलाई जनही ३० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने भएको छ। प्रतियोगिता सञ्चालनका लागि फिफा, एएफसी, नेपाल सरकारको शिक्षा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र व्यावसायिक संस्थासँग बजेट तथा सहयोग माग्ने तयारीसमेत गरिनेछ ।
एन्फाले कात्तिक १३ गतेको कार्यसमिति बैठकका निर्णयबारे लिखित जानकारी माग गर्दा अध्यक्ष र महासचिवबाट जवाफ नआएको भन्दै पुनः तीन दिनभित्र सत्यतथ्य विवरण पेस गर्न अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले निमित्त महासचिव दामोदर भट्टराईलाई एन्फाको कार्यालय सञ्चालन, पत्राचार तथा नियमित प्रशासनिक गतिविधि सञ्चालन गर्न आवश्यक अधिकारसमेत प्रदान गरेको छ ।
त्यसैगरी, हाल स्थगित अवस्थामा रहेको एन्फाको शनिबार प्रशिक्षण कार्यक्रमलाई सुधार गर्ने निर्णय गरिएको छ । प्रशिक्षण कार्यक्रम नियमित र व्यवस्थित बनाउन प्राविधिक निर्देशक, प्रशिक्षक संघ, प्रशिक्षक तथा कर्मचारीसँग बैठक गरी समिति गठन गर्ने र तत्काल सुधारका काम अघि बढाउन सचिवालयलाई निर्देशन दिइएको छ । एन्फाद्वारा सञ्चालित एकेडेमीहरूको अवस्था र सञ्चालनका लागि आवश्यक बजेट तथा कार्यक्रमबारे प्रतिवेदन पेस गर्न पनि भनिएको छ ।
बैठकले दशौँ राष्ट्रिय खेलकुद महोत्सवमा फुटबलतर्फका प्राविधिक विषयमा समन्वय गरी प्रतियोगिता सफल बनाउन सहयोग गर्ने तथा एन्फाको नियमित काम सञ्चालनका लागि आवश्यक सामग्री फिर्ता गर्न सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णयसमेत गरेको छ ।









