काठमाडौं । अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टका विभिन्न सेवा विश्वभर अवरुद्ध हुँदा हजारौँ प्रयोगकर्ता प्रभावित भएका छन् ।
माइक्रोसफ्ट टिम्स, आउटलुक र कृत्रिम बौद्धिकतामा आधारित कोपाइलट सेवामा समस्या देखिएको हो । अमेरिका, जापान, सिङ्गापुर, बेलायत र अस्ट्रेलियासहित ७४ देशका प्रयोगकर्ताले सेवा प्रयोगमा कठिनाइ भोगेका छन् ।
सेवा अवरुद्ध हुनुको कारण आफ्नो पूर्वाधारमा अत्यधिक भार परेको माइक्रोसफ्टले जनाएको छ । कम्पनीका अनुसार केही सर्भर अप्रत्याशित रूपमा बन्द हुँदा अन्य सर्भरमा भार बढेको हो । सेवा अवरुद्ध भएपछि इमेल, क्यालेन्डर, फाइल तथा अन्य कार्यालयसम्बन्धी काम प्रभावित भएका छन् । सेवा निगरानी गर्ने वेबसाइट डाउनडिटेक्टरका अनुसार बिहीबार साँझ आउटलुकमा समस्या देखिएको भन्दै करिब एक लाख ४० हजार उजुरी दर्ता भएका थिए । सामान्य अवस्थाको तुलनामा यो संख्या दुई हजार गुणाभन्दा बढी हो। समस्या कम्तीमा आठ घण्टासम्म जारी रहेको र पछिल्लो विवरणअनुसार २८ हजारभन्दा बढी प्रयोगकर्ता प्रभावित भएका थिए ।
माइक्रोसफ्टले समस्या समाधानका लागि विभिन्न उपाय परीक्षण गरिरहेको जनाएको छ। तर सेवा सुधार गर्ने प्रयास अपेक्षाअनुसार सफल नभएको कम्पनीले स्वीकार गरेको छ। यस समस्याले माइक्रोसफ्टका सेवामा निर्भर कृत्रिम बौद्धिकतासम्बन्धी कम्पनी ओपनएआई र एन्थ्रोपिकका केही सेवामा समेत असर पारेको छ ।









