काठमाडौँ । युइएफए नेसन्स लिगअन्तर्गत बिहीबार राति भएका खेलमा स्पेन र इंग्ल्यान्डले जित निकालेका छन् । स्पेनले चेक गणतन्त्रलाई २–० गोलले पराजित गर्दा इंग्ल्यान्डले क्रोएसियामाथि २–१ को जित दर्ता गरेको छ ।
नेसन्स लिगअन्तर्गत इंग्ल्यान्डले क्रोएसियालाई २–१ गोलले पराजित गरेको छ । इंग्ल्यान्डको जितमा मोर्गन रोजर्स र ह्यारी केनले गोल गरेका थिए । क्रोएसियाका लागि पेटार सुचिचले एक गोल फर्काएका थिए ।
पहिलो हाफमा जुड बेलिङ्घमको पासमा मोर्गन रोजर्सले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा पेटार सुचिचले गोल गर्दै क्रोएसियालाई खेलमा फर्काए ।
तर त्यसको पाँच मिनेटपछि इंग्ल्यान्डले पेनाल्टी अवसर पायो । कप्तान ह्यारी केनले पेनाल्टीलाई गोलमा परिणत गर्दै इंग्ल्यान्डलाई २–१ को अग्रता दिलाए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसकेपछि इंग्ल्यान्ड विजयी भयो ।
यस खेलसँगै ह्यारी केनले इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमानसमेत आफ्नो नाममा लेखाएका छन् । उनले १२६औँ खेल खेल्दै पिटर सिल्टनको कीर्तिमान तोडेका हुन् ।
यस जितसँगै इंग्ल्यान्डले समूह ‘ए’ को समूह ३ बाट क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।
त्यस्तै प्रागमा भएको खेलमा स्पेनले घरेलु टोली चेक गणतन्त्रलाई २–० गोलले पराजित गरेको हो । स्पेनका एलेक्स बेनाले ३९औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि निर्धारित समयको खेल सकिएपछि थपिएको समयमा मार्क पुबिलले दोस्रो गोल गरेपछि स्पेनले सहज जित निकालेको थियो ।
खेलको ६९औँ मिनेटमा चेक गणतन्त्रका कप्तान लादिस्लाभ क्रेची रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि घरेलु टोली १० खेलाडीमा सीमित भएको थियो ।
यस जितसँगै स्पेनले प्रतियोगितामा लगातार पाँचौँ जित निकालेको छ । स्पेन यसअघि नै समूह ‘ए’ को समूह ३ बाट क्वार्टरफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।









