काठमाडौँ । लिड्स युनाइटेडले इङ्ग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा टोटेनहम हट्सपरलाई १–० गोलले पराजित गरेको छ ।
घरेलु मैदान एलान्ड रोडमा भएको खेलमा नोहा ओकाफोरले निर्णायक गोल गर्दै लिड्सलाई जित दिलाएका हुन् ।
ओकाफोरले खेलको ७९औँ मिनेटमा गोल गरेका थिए । उनी मैदान प्रवेश गरेको ९७ सेकेन्डमै गोल गर्न सफल भएका थिए । थ्रो–इनबाट आएको बललाई ह्यारी विल्सनले अगाडि बढाएपछि ओकाफोरले शक्तिशाली प्रहार गर्दै गोल गरेका थिए ।
पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । टोटेनहमले बलमाथि बढी नियन्त्रण राखे पनि स्पष्ट गोलका अवसर सिर्जना गर्न सकेन। दोस्रो हाफमा भने लिड्सले आक्रामक खेल प्रस्तुत गर्दै टोटेनहममाथि दबाब बढाएको थियो ।
खेलको पहिलो हाफमा लिड्सका जेयडेन बोगलले टोटेनहमका माथिस टेलमाथि गरेको खराब ट्याकलपछि विवाद भएको थियो । भिडियो सहायक रेफ्रीले घटनाको समीक्षा गरे पनि बोगलले रातो कार्ड पाएनन्। उक्त ट्याकलका कारण टेलले चोट बोकेपछि मैदान छाड्नुपरेको थियो ।
जितसँगै लिड्सले प्रिमियर लिगमा लगातार पाँच खेलको जितविहीन यात्रा टुंग्याएको छ। लिड्स १४ अंकसहित आठौँ स्थानमा उक्लिएको छ भने १२ अंक रहेको टोटेनहम दशौँ स्थानमा झरेको छ । यसअघि लगातार तीन खेल जितेको टोटेनहमको विजयी यात्रा पनि रोकिएको छ ।









