काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज शनिबारनेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको र हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको जानकारी दिएको छ ।
आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका साथै कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
त्यस्तै आज राति कोशी र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै बाँकी हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।









