काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टर्कीको अन्टाल्यामा हुने संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–३१ मा नेपालले जलवायु न्याय, पर्वतीय सवाल, हानि तथा नोक्सानी र जलवायु वित्तलाई प्रमुखताका साथ उठाउने बताएकी छन् ।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले नोभेम्बर ९ देखि २० सम्म हुने सम्मेलनमा नेपालको जलवायु संकट र राष्ट्रिय प्राथमिकता अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरिने जानकारी दिइन् । सम्मेलनको पहिलो साता परराष्ट्रमन्त्री शिशिर खनाल र दोस्रो साता मन्त्री चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने कार्यक्रम छ ।
नेपाल र भुटानले संयुक्त रूपमा १.५ डिग्री सेल्सियस तापक्रम वृद्धिसँग सम्बन्धित पर्वतीय मुद्दा अघि बढाउने भएका छन् । भोटेकोशी–रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट भएको मानवीय, आर्थिक तथा गैरआर्थिक क्षतिका विषय पनि सम्मेलनमा उठाइने मन्त्री चौधरीले बताइन् ।
नेपालले आफ्नै राष्ट्रिय प्याभिलियन स्थापना गरी ४० भन्दा बढी छलफल तथा कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ । नोभेम्बर १२ मा ताजिकिस्तान, किर्गिस्तान, भुटान र पाकिस्तानसँगको सहकार्यमा पर्वतीय मुद्दासम्बन्धी उच्चस्तरीय कार्यक्रम पनि आयोजना हुनेछ ।
त्यस्तै, नेपाल र कोरिया सरकारबीच कार्बन व्यापारसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्री चौधरीले जानकारी दिइन् । उनले कोप–३१ लाई जलवायु न्यायको माग सशक्त बनाउने र पर्वतीय राष्ट्रका साझा सवाल अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने अवसरका रूपमा उपयोग गरिने बताइन् ।









