काठमाडौं । ओखलढुङ्गाको लिखु गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा ३१ लाख ६७ हजार २०० रुपैयाँ अनियमितता गरेको आरोपमा पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा लिखु गाउँपालिका–९ पोकलीमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा फर्जी औँठाछाप, दोहोरो लाभग्राही विवरण तथा मृत्यु भइसकेका र बसाइँ सरेका व्यक्तिको नाममा रकम भुक्तानी गरेको अनुसन्धानबाट खुलेको आरोपपत्रमा उल्लेख छ ।
अभियोगअनुसार तत्कालीन वडा अध्यक्ष शुकविर तामाङले आफ्नो औँठाछाप ३६० पटक प्रयोग गरी २९ लाख १५ हजार २०० रुपैयाँ भुक्तानी लिएको देखाइएको छ । त्यस्तै, मृत्यु भएका र बसाइँ सरेका लाभग्राहीको नाममा समेत भत्ता वितरण गरेको देखाएर थप २ लाख ५२ हजार रुपैयाँ हिनामिना गरिएको उल्लेख छ ।
यस प्रकरणमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी, अभयकुमार गुप्ता, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनानाथ चौधरी, वडा अध्यक्ष शुकविर तामाङ र एमआईएस अपरेटर खिला विकविरुद्ध मुद्दा दायर गरिएको हो ।
उनीहरूमध्ये ओमबहादुर दर्जीविरुद्ध ९ लाख ५३ हजार ६०० रुपैयाँ, अभयकुमार गुप्ताविरुद्ध ११ लाख ६७ हजार २०० रुपैयाँ र दिनानाथ चौधरीविरुद्ध ७ लाख ९४ हजार ४०० रुपैयाँ बिगो कायम गरिएको छ ।
त्यस्तै, वडा अध्यक्ष तामाङ र एमआईएस अपरेटर विकविरुद्ध जनही ३१ लाख ६७ हजार २०० रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार तथा सरकारी अभिलेखमा हेरफेर गरेको कसुरमा सजाय माग गरिएको छ ।
आरोपपत्रमा बिगो असुल, बिगो बराबर जरिवाना तथा कानुनअनुसार कैद सजाय गर्न मागदाबी गरिएको छ ।









