काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ मा तीन कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ ।
आईपीओ निष्कासन अनुमति पाएका तीन कम्पनीमध्ये दुईवटा जलविद्युत् क्षेत्रका छन् भने एउटा उत्पादनमूलक क्षेत्रको कम्पनी हो ।
बोर्डको नियमन विभागले सार्वजनिक गरेको विवरणअनुसार हिम पर्वत हाइड्रोपावर, कान्तिपुर फार्मास्युटिकल्स ल्याब र आशुतोष इनर्जीलाई आईपीओ निष्कासनको अनुमति दिइएको हो ।
यी तीन कम्पनीले कुल ८८ करोड १५ लाख रुपैयाँ बराबरका ८८ लाख १५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने अनुमति पाएका छन् । तीनवटै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले सेयर निष्कासन गर्नेछन् ।
बोर्डबाट सबैभन्दा अनुमति पाएको हिम पर्वत हाइड्रोपावरले स्थानीय तथा सर्वसाधारणका लागि ५९ लाख १५ हजार कित्ता सेयर निष्कासन गर्नेछ । यसबाट कम्पनीले ५९ करोड १५ लाख रुपैयाँ पुँजी जुटाउनेछ । कम्पनीलाई गत असोज २० गते अनुमति दिइएको हो । यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नागरिक क्यापिटल रहेको छ ।
त्यस्तै, कान्तिपुर फार्मास्युटिकल्स ल्याबले सर्वसाधारणका लागि १७ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ । यसबाट कम्पनीले १७ करोड रुपैयाँ जुटाउनेछ । कम्पनीले गत कात्तिक १९ गते अनुमति पाएको हो । यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।
यसैगरी, आशुतोष इनर्जीले स्थानीय तथा सर्वसाधारणका लागि १२ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ । यसबाट कम्पनीले १२ करोड रुपैयाँ जुटाउनेछ । बोर्डले कम्पनीलाई कात्तिक २० गते अनुमति दिएको हो । यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।









