सल्यान । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सल्यानको बनगाड कुपिण्डे नगरपालिकास्थित नाम्रा क्षेत्रमा बसोबास गर्दै आएका राउटे समुदायका महिला तथा बालबालिकासँग भेटघाट र संवाद गरेकी छन् ।
भेटका क्रममा मन्त्री बादीले राउटे समुदायको जीवनशैली, दैनिक आवश्यकता, जीविकोपार्जनका चुनौती तथा शिक्षा र स्वास्थ्यको अवस्थाबारे जानकारी लिएकी थिइन् ।
सो अवसरमा राउटे समुदायका सदस्यहरूले आफूले निर्माण गरेका तीनवटा परम्परागत काठका भाँडा मन्त्री बादीलाई मायाको चिनोस्वरूप प्रदान गरेका थिए । ती सामग्री ग्रहण गर्दै मन्त्री बादीले राउटे समुदायको परम्परागत सीप र कलाको संरक्षणसँगै त्यसलाई आयआर्जनको माध्यम बनाउनुपर्ने बताएकी थिइन् । समुदायले उत्पादन गर्ने काठका भाँडाकुँडा तथा महिलाले तयार गर्ने माला र हस्तकलाका सामग्रीको बजारीकरण गर्न सके आर्थिक अवस्था सुधारमा सहयोग पुग्ने उनको भनाइ थियो ।
उनले राउटे बालबालिकाको शिक्षालाई प्राथमिकता दिँदै उनीहरूको सिकाइलाई निरन्तरता दिन आवश्यक वातावरण र सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिएकी थिइन् ।
यसै क्रममा मन्त्री बादीले सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्वारा राउटे बालबालिकाका लागि सञ्चालित घुम्ती सिकाइ केन्द्रको अवलोकनसमेत गरेकी थिइन् । उनले केन्द्रमा भइरहेको शिक्षण प्रक्रिया र बालबालिकाको सिकाइ अवस्थाबारे जानकारी लिएकी थिइन् ।
राउटे समुदायको मौलिक संस्कृति र पहिचानको संरक्षण गर्दै महिला तथा बालबालिकाको अधिकार सुनिश्चितता, शिक्षा, स्वास्थ्य र जीविकोपार्जनका अवसर विस्तार गर्नुपर्नेमा मन्त्री बादीले जोड दिएकी थिइन् ।









