पोखरा । रोयल इन्फिल्डको नेपालस्थित आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले ४० महिला राइडरको सहभागितामा ‘मिस्टिक मुस्ताङ राइड २’ सम्पन्न गरेको छ ।
कात्तिक १२ देखि १५ गतेसम्म चार दिन सञ्चालन भएको राइड पोखरास्थित क्लासिक ड्राइभबाट सुरु भएर मुस्ताङ पुगेर सम्पन्न भएको थियो । यात्राका क्रममा सहभागीहरूले नेपालको हिमाली भूगोल, प्राकृतिक सौन्दर्य र साहसिक मोटरसाइकल यात्राको अनुभव लिएका थिए ।
महिला राइडरलाई लामो दूरीको यात्रामा प्रोत्साहन गर्ने, आत्मविश्वास बढाउने र मोटरसाइकल यात्रामा महिलाको सहभागिता विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । यसले महिला राइडरबीच आपसी सम्बन्ध र अनुभव आदानप्रदानलाई समेत प्रोत्साहन गरेको छ ।
अल्फा अटोमोटिभले सुरक्षित तथा जिम्मेवार मोटरसाइकल यात्रा संस्कृतिको विकास र नेपालमा रोयल इन्फिल्डको राइडिङ समुदायलाई थप सशक्त बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।









