• २०८३ कार्तिक १८ बुधबार

गगन थापाले ओलीलाई किन भेटे ?

गगन थापाले ओलीलाई किन भेटे ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली निवासमा करिब एक घण्टा भेटवार्ता भएपछि राजनीतिकमा अनेक टिका टिप्पणी शुरु भएको छ । 

थापा सभापति बनेपछि ओलीसँग भएको यो पहिलो भेटलाई राजनीतिक वृतमा अनेक किसिमले विश्लेषण गरिएको छ । यसअघि ओलीले पटक पटक भेट गर्न गरेको पहललाई नजरअन्दाज गर्दै आएका थापाले पछिल्लो राजनीतिक घटनाक्रमपछि ओलीलाई भेटगर्न उनकै निवासमा पुग्नुलाई अर्थपूर्ण मानिएको छ ।

भेटमा भएका छलफलको विषय दुवै पक्षले सार्बजनिक नगरेपनि थापाले मधेश र गण्डकी प्रदेशमा सरकार निर्माणदेखि पछिल्लो समय सरकारका गतिबिधि बारे छलफल गरेको बुझिएको छ ।

इनम सापकोटा प्रकरणमा कथित रुपमा आफ्नो नाम मुछिएपछि केहि रक्षात्मक बनेका थापाको यो भेट पत्रकार धरपकडपछि कांग्रेसले अघि सारेको राजनीतिक संवादको रणनीतिसँग पनि जोडिएको बताइएको छ ।

एमालेले समर्थन फिर्ता लिएपछि मधेशमा कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको सरकार अल्पमतमा पर्ने अवस्था छ भने गण्डकी प्रदेशको सत्ता समीकरण पनि कांग्रेसका लागि अर्को चुनौती बनेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारबाट एमाले बाहिरिएपछि त्यहाँ पनि राजनीतिक अन्योल बढेको छ । एमालेले प्रचण्डसँग मिलेर प्रदेशमा सरकार बनाउने रणनीति बनाएपछि भएको थापा र ओलीको यो भेटले प्रदेशमा फेरी नयाँ समीकरण बन्नसक्ने अड्कलबाजी समेत भएको छ ।

अर्कोतर्फ, इनम सापकोटा प्रकरणमा गगन थापाको नाम जोडिएपछि कांग्रेसको नयाँ नेतृत्वमाथि राजनीतिक दबाब बढेको छ। थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिलाउने प्रक्रियामा १८ करोड रुपैयाँको कारोबार भएको र न्यायाधीशलाई समेत रकम दिएको दाबीसहितको अडियो सार्वजनिक भएको छ । यी आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ । 

त्यस्तै, पत्रकारमाथि भएको धरपकडपछि कांग्रेसले सबै राजनीतिक दलसँग संवाद गर्ने रणनीति अघि सारेको छ । कात्तिक १५ गतेको विशेष बैठकपछि सभापति थापाले लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि हस्तक्षेप भए प्रतिवाद गर्ने बताएका थिए । उनले एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिस्ट पार्टीसहित संसद्भित्र र बाहिर रहेका दल तथा नागरिक समाजसँग छलफल गर्ने नीति सार्वजनिक गरेका थिए । ओलीसँगको भेटलाई यही रणनीतिको एउटा हिस्साका रूपमा पनि हेरिएको छ ।

गगन–ओली भेटले तत्काल कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बन्ने संकेत भने दिएको छैन । तर प्रदेश सरकारको नेतृत्व, सम्भावित सत्ता सहकार्य र राष्ट्रिय राजनीतिक मुद्दामा दुई दलबीच संवादको ढोका खुला राख्ने प्रयासका रूपमा यसलाई लिन सकिने विश्लेषण गरिएको छ ।

गगन थापाका लागि अहिले प्रदेश सरकार जोगाउनु चुनौती र मुख्य प्रथामिकता होइन । अब निर्वाचन हुन लागेको प्रदेशको सरकार जोगाउन उनले ओलीलाई भेटेको भनेर विश्वास गर्ने आधार देखिदैन । सरकारले एक पछि अर्को गर्दै गरिरहेका धरपकड, अविश्वासको वातावरण, संबिधानको उपेक्षासहितका विषयमा विपक्षी दलहरु रणनीतिक रुपमा अगाडी बढ्न यो भेट भएको अड्कल सजिलै गर्न सकिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै