• २०८३ कार्तिक १६ सोमबार

काठमाडौँ फिल्म फेस्टिभलमा के के भयो ?

काठमाडौँ फिल्म फेस्टिभलमा के के भयो ?

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ बौद्धस्थित तारागाउँ नेक्स्टको एम्पिथिएटरमा सम्पन्न भएको छ । कात्तिक १३ गते विश्व सम्पदा क्षेत्र वसन्तपुरबाट सम्पदा यात्रासहित सुरु भएको महोत्सव कात्तिक १५ गते सम्पन्न भएको हो ।

युनेस्कोको सिर्जनशील चलचित्र सहर सञ्जालमा आबद्ध भएपछि काठमाडौंमा पहिलोपटक आयोजना गरिएको महोत्सवले नेपाली तथा अन्तर्राष्ट्रिय चलचित्र, कला, संस्कृति र सम्पदालाई एउटै मञ्चमा जोडेको छ । 

तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा १४ देशका ३८ चलचित्र प्रदर्शन गरिएको थियो। राष्ट्रिय सभा गृह र जय नेपाल चलचित्र भवनमा नेपाली तथा विदेशी चलचित्र प्रदर्शन गरिएका थिए। महोत्सवमा चलचित्र प्रदर्शनसँगै छलफल, कार्यशाला, चलचित्रकर्मीबीच अन्तरक्रिया र सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

महोत्सवको उद्घाटन वसन्तपुरमा सम्पदा यात्रासहित गरिएको थियो । परम्परागत बाजागाजा, गणेश चर्या, अष्टमातृका नृत्य तथा सांस्कृतिक प्रस्तुतिले उद्घाटन समारोहलाई आकर्षक बनाएका थिए। दोस्रो दिन आयोजित विशेष रातो कार्पेट समारोहमा भारतीय अभिनेत्री शबाना आजमी, नेपाली कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, करिश्मा मानन्धर, दीपकराज गिरी, केकी अधिकारीलगायत चलचित्रकर्मी सहभागी भएका थिए । शबाना आजमी र अभिनेत्री स्वस्तिमा खड्काबीच चलचित्र र जीवनसम्बन्धी अन्तरक्रियासमेत भएको थियो । 

महोत्सवअन्तर्गत आयोजित ‘मेरो संस्कृति, मेरो सम्पदा’ शीर्षकको लघु चलचित्र प्रतियोगितामा जीवन सुनुवार निर्देशित ‘भकुण्डे भूत’ पहिलो भएको छ । करिब पाँच मिनेटको उक्त चलचित्रले परम्परागत विश्वास र रहस्यलाई विषय बनाएको छ । प्रतियोगितामा अनुभव श्रेष्ठ निर्देशित ‘द सोल अफ गुठी’ दोस्रो र सौगात सापकोटा निर्देशित ‘झिँगु छेँ’ तेस्रो भएका छन् । 

महोत्सवको समापन कार्यक्रम बौद्ध स्तूपाको परिक्रमा र प्रार्थनाबाट सुरु भएको थियो । त्यस अवसरमा बौद्ध पुगेका कलाकार तथा विशिष्ट व्यक्तिहरूलाई काठमाडौँ महानगरपालिका वडा नम्बर ६ ले मौलिक गायन, वादन र खादामार्फत स्वागत गरेको थियो । त्यसपछि कलाकार तथा चलचित्रकर्मीहरू बौद्धबाट तारागाउँसम्म पैदल यात्रा गर्दै समापन समारोहमा सहभागी भएका थिए । चलचित्रका सर्जकलाई काठमाडौँको जनजीवनसँग परिचित गराउने उद्देश्यले पैदल यात्रा आयोजना गरिएको महानगरपालिकाले जनाएको छ ।

समापन समारोहमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँ रचनात्मक सहर सञ्जालमा आबद्ध हुँदा चार वर्षभित्र चलचित्र महोत्सव आयोजना गर्ने प्रतिबद्धता पूरा भएको बताइन् ।

उनले पहिलो संस्करणबाट प्राप्त अनुभव र सुझावलाई आत्मसात् गर्दै आगामी संस्करणलाई थप व्यवस्थित र परिष्कृत बनाइने बताइन् । चलचित्रमार्फत काठमाडौँका कथा विश्वभर पुर्‍याउने र कला, साहित्य तथा सिर्जनाका क्षेत्रलाई जोडेर रचनात्मक उद्योगको विकास गर्ने महानगरपालिकाको योजना रहेको उनको भनाइ थियो ।

वरिष्ठ कलाकार नीर शाहले महोत्सवको अनुभवलाई अभिलेखन, पुस्तान्तरण र प्रवर्द्धन गर्नुपर्ने बताए । काठमाडौँ महानगरपालिकाले सुरु गरेको यो काम सरकारले यसअघि नै थाल्नुपर्ने भए पनि ढिलै भए पनि महत्त्वपूर्ण सुरुवात भएको उनको भनाइ थियो ।

त्यस्तै, अभिनेता राजेश हमालले समाजका कथा, अवस्था र परिस्थितिलाई आम दर्शकमाझ पुर्‍याउन चलचित्र सशक्त माध्यम भएको बताए । अन्तर्राष्ट्रियस्तरमा विकसित प्रविधि तथा प्राविधिक ज्ञान भित्र्याउन र नेपालको अद्वितीय सम्पदालाई चलचित्रमार्फत विश्वभर चिनाउन महानगरपालिकाले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । यसले नेपाली चलचित्र उद्योगलाई समेत लाभ पुग्ने उनले बताए ।

सांघाई फिल्म एकेडेमीअन्तर्गत फिल्म आर्ट्स रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्को मुलरले दक्षिण एसियाली चलचित्र उद्योगको विकासका लागि नेपालमा पर्याप्त सम्भावना रहेको बताए । नेपालभित्रै रहेका सम्भावना पहिचान गरी चलचित्र उद्योगलाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै उनले काठमाडौँ महानगरपालिकाले सुरु गरेको महोत्सवबाट नेपाली मात्र नभई अन्तर्राष्ट्रिय चलचित्र उद्योगले समेत लाभ लिन सक्ने बताए ।

महोत्सवका सिर्जनात्मक निर्देशक तथा चलचित्र छनोटकर्ता आयुषा श्रेष्ठले चलचित्र तथा कला क्षेत्रबाट प्राप्त सहयोगले महोत्सव सफल भएको बताइन् । उनले महानगरपालिकाको इतिहासमा यो महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरिन् ।

नेपाल पर्वतारोहण संघकी अध्यक्ष फुर्वा गल्मो शेर्पाले नेपालको साहसिक पर्यटनसँग सम्बन्धित कथालाई चलचित्र क्षेत्रसँग जोड्न महानगरपालिकाले सहयोग गर्ने अपेक्षा व्यक्त गरिन् ।

समापन समारोहमा काठमाडौँ कला परिषद्का सदस्य, महोत्सवका सल्लाहकार, आयोजनामा योगदान पुर्‍याउने विभिन्न विधाका निर्देशक तथा साझेदार संस्थाका प्रतिनिधिलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो ।

महानगरपालिकाले चलचित्र क्षेत्रको विकास, नेपाली कथाको अन्तर्राष्ट्रिय प्रवर्द्धन तथा कला र सिर्जनात्मक उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो पटक यो महोत्सव आयोजना गरेको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै