काठमाडौं । नेपाली कांग्रेसले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने र जनदबाबपछि मात्र रिहा गर्ने प्रवृत्ति तत्काल रोक्न सरकारसँग माग गरेको छ ।
पार्टी सभापति गगनकुमार थापाले शुक्रबार विज्ञप्ति जारी गर्दै कानुनविपरीत पक्राउ र पत्रकारमाथिको दुर्व्यवहार बन्द गर्न आग्रह गरेका हुन् ।
कांग्रेसले समाचार कक्षमै प्रहरी परिचालन गरी पत्रकार पक्राउ गर्ने शैलीले शाहीकालीन निरङ्कुशताको झल्को दिएको टिप्पणी गरेको छ । विगतमा पनि सत्तामा रहेका व्यक्तिमाथि प्रश्न उठ्दा शक्ति दुरुपयोग गरेर सञ्चार क्षेत्रमाथि हस्तक्षेप हुने गरेको भन्दै पार्टीले यस्ता प्रवृत्ति दोहोरिनु लोकतन्त्रका लागि चिन्ताजनक भएको जनाएको छ ।
काँग्रेसले भनेको छ- ' समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकारहरूलाई पक्राउ गर्ने र धरपकड गर्ने यो शैलीले शाही कालको निरङ्कुशताको झल्को दिएको छ । विगतमा पनि शासकहरूमाथि प्रश्न उठेपछि उनीहरूले सत्ता र शक्तिको दुरुपयोग गर्दै सञ्चार क्षेत्रमाथि धाबा बोलेका अनेकौँ घटना हामीले भोगेका हौँ । आज पुनः तिनै विगतका निरङ्कुश प्रवृति दोहरिनु लोकतन्त्रका लागि अत्यन्त दुःखी र चिन्ताजनक विषय हो । नेपाली कांग्रेस स्थापनाकालदेखि नै प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनको शासनको रक्षाका निम्ति निरन्तर लड्दै आएको पार्टी हो । नेपाली कांग्रेस सधैँ यस्ता निरङ्कुश र स्वेच्छाचारी कदमहरूको बिरुद्ध उभिँदै आएको छ र अनवरत उभिने छ ।'
स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै कांग्रेसले कुनै सञ्चारमाध्यम वा पत्रकारबाट गल्ती भए त्यसको निरूपण प्रेस काउन्सिललगायत स्थापित कानुनी तथा संस्थागत प्रक्रियाबाट हुनुपर्ने बताएको छ। सञ्चारगृहमा सिधै प्रहरी हस्तक्षेप गर्नु कानुनी शासनविपरीत भएको पार्टीको ठहर छ ।
कांग्रेसले नियन्त्रणमा लिइएका व्यक्तिको संवैधानिक अधिकारको रक्षा गर्न, सञ्चारगृहमाथिको अनावश्यक प्रहरी हस्तक्षेप रोक्न र कानुनी प्रक्रियाबाहिर गएर गरिएका कदम तत्काल सच्याउन सरकारसँग माग गरेको छ । पार्टी सभापति थापाले यस्ता स्वेच्छाचारी कदमविरुद्ध कांग्रेस निरन्तर उभिने बताएका छन् ।









