• २०८३ कार्तिक १३ शुक्रबार

भुटान एक्कासी बाढी, हिमताल फुटेको आशंका

भुटान एक्कासी बाढी, हिमताल फुटेको आशंका

काठमाडौं । भुटानको गासा जिल्लास्थित शिन्ताफु हिमताल फुटेको आशंका गरिएको छ । बिहीबार साँझ पुनात्साङछु नदीमा एक्कासी बाढी आएपछि हिमताल फुटेको आशंका गरिएको हो ।

ठूलो बाढी आएपछि भुटानसँग सीमा जोडिएका भारतका पश्चिम बंगाल र असमका क्षेत्रमा सतर्कता अपनाइएको छ ।

वाकिला पर्वतको फेदीमा रहेको हिमताल फुट्दा करिब ७४ लाख घनमिटर पानी बाहिरिएको प्रारम्भिक विवरण सार्वजनिक भएका छन् । प्रारम्भिक विवरणअनुसार हिमतालबाट बाहिरिएको पानीको वास्तविक प्रभाव र क्षतिको पूर्ण विवरण आइसकेको छैन। भुटान र भारतका अधिकारीहरूले नदीको जलस्तर तथा पानीको बहाव निगरानी गरिरहेका छन्। घटनामा मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन।

बाढीको बहावले भुटानको लाया क्षेत्र जोड्ने सडकको केही भाग बगाएपछि यातायातसमेत अवरुद्ध भएको बताइएको छ ।

भुटानबाट बग्ने पुनात्साङछु नदी भारत प्रवेश गरेपछि संकोश नदीका रूपमा बग्छ । नदीमा पानीको सतह अचानक बढ्न सक्ने भन्दै भारतको अलिपुरद्वार र असमको धुब्री जिल्लामा सतर्कता अपनाउन निर्देशन दिइएको छ ।

पश्चिम बंगालमा संकोश नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ भने नदी किनारका बस्तीमा साइरन बजाएर स्थानीयलाई सचेत गराइएको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै