काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीभन्दा देशलाई प्राथमिकतामा राखेर अघि बढ्न नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई आग्रह गरेका छन्। उनले सभापति गगन थापाको नेतृत्वमा आधुनिक, व्यवस्थित र बलियो कांग्रेस निर्माण गर्दै समुन्नत नेपाल बनाउने अभियानमा जुट्नुपर्ने बताएका छन् ।
बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै शर्माले पार्टीका सबै नेता तथा सदस्यले संस्थागत रूपमा निर्धारित जिम्मेवारी पूरा गर्नुपर्ने बताए । सभापतिले तयार पार्ने कार्ययोजनाअनुसार तोकिएको भूगोल र जिम्मेवारीमा काम गरी समयमै केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाउनुपर्ने उनको भनाइ थियो ।
उनले पार्टीमाथि उठ्ने आलोचना र प्रश्नलाई सकारात्मक रूपमा ग्रहण गर्न तथा गलत विषयको खण्डन स्वस्थ र विधिसम्मत प्रक्रियाबाट गर्नुपर्नेमा जोड दिए ।
शर्माले परिवर्तनका चुनौती सामना गर्न नवनिर्वाचित केन्द्रीय कार्यसमितिले सरकारसँग प्रभावकारी सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। उनले सभापति थापाको नेतृत्वमा संस्थागत र प्रभावकारी कार्यशैली अपनाउँदै एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए ।









