• २०८३ कार्तिक ११ बुधबार

नेपालको जलवायु कार्यसूची र विपद्का मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाउने विषयमा छलफल

नेपालको जलवायु कार्यसूची र विपद्का मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाउने विषयमा छलफल

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक लिला पिटर्स याहियाबीच नेपालको जलवायु कार्यसूची, जलवायुजन्य विपद्का मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाउने तथा संयुक्त राष्ट्रसङ्घीय निकायसँग सहकार्य बढाउने विषयमा छलफल भएको छ ।

बैठकमा मन्त्री चौधरीले ‘लिभिङ सगरमाथा : माउन्टेन एजेन्डा’ स्वीकृत भइसकेको जानकारी दिँदै आगामी अक्टोबर २९ मा आयोजना हुने राष्ट्रिय जलवायु शिखर सम्मेलनका अवसरमा उक्त एजेन्डा सार्वजनिक गरिने बताएकी छन् ।

त्यस्तै, कोप–३१ मा नेपालको जलवायुजन्य विपद्का अनुभव, प्रभाव र चुनौती अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न विशेष प्रदर्शनीस्थल स्थापना गर्ने तयारीबारे छलफल भएको छ। उक्त प्रदर्शनीस्थल सञ्चालनका लागि आवश्यक खर्च व्यवस्थापनमा संयुक्त राष्ट्रसङ्घीय निकायको सहयोग अपेक्षा गरिएको मन्त्री चौधरीले बताएकी छन् ।

बैठकमा भोटेकोशी बाढीलगायत जलवायुजन्य विपद्का विषयलाई अन्तर्राष्ट्रियस्तरमा प्राथमिकताका साथ उठाउन सरकारी निकायको प्रतिनिधित्व र सहयोग आवश्यक रहेकोमा जोड दिइएको थियो । साथै, कोप–३१ मा युवा पुस्ता, विशेषगरी जेन्जी युवा र सञ्चारकर्मीको सहभागिता सुनिश्चित गर्ने विषयमा पनि छलफल भएको छ ।

जलवायु परिवर्तनका असर न्यूनीकरण तथा नेपालको अनुभव र चुनौतीलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्न सरकार, विकास साझेदार, संयुक्त राष्ट्रसङ्घीय निकाय र नागरिक समाजबीच सहकार्य सुदृढ बनाउने विषयमा समेत बैठकमा जोड दिइएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै