काठमाडौँ । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने सरकारी पहलअन्तर्गत चिनियाँ भाषामा अनूदित छ वटा नेपाली पुस्तक चीनको छेन्दुमा लोकार्पण गरिएको छ ।
तियान्फु पुस्तक प्रदर्शनीका क्रममा लक्ष्मीप्रसाद देवकोटाको ‘लक्ष्मी निबन्धसङ्ग्रह’, भीष्म उप्रेतीको ‘हिमालय, शेर्पा र यती’, ध्रुवचन्द्र गौतमको ‘अलिखित’, सरुभक्तको ‘चुली’, डा. राजु अधिकारीको ‘यस्तो होस् जीवनशैली’ र सुलोचनाको ‘जीवनबाट जीवन सिकौँ’ चिनियाँ भाषामा सार्वजनिक गरिएको हो ।
नेपाल सरकार र चीन सरकारबीच सन् २०२३ सेप्टेम्बर २५ मा भएको द्विपक्षीय समझदारीअनुसार नेपाली भाषाका २५ पुस्तक चिनियाँ भाषामा र चिनियाँ भाषाका २५ पुस्तक नेपाली भाषामा अनुवाद गरी प्रकाशन गर्ने परियोजना अघि बढाइएको थियो ।
यस परियोजनाको मुख्य उद्देश्य नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय पाठकमाझ पुर्याउनुका साथै नेपाली सिर्जना, संस्कृति र जीवनदर्शनको प्रवर्द्धन गर्नु हो। पुस्तकहरूको अनुवाद र प्रकाशनले नेपाली साहित्यलाई चिनियाँ पाठकमाझ चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सरकारी पहलले नेपाल र चीनबीच साहित्यिक आदानप्रदान विस्तार गर्नुका साथै दुवै देशको भाषा, साहित्य र संस्कृतिबीचको सम्बन्ध थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास गरिएको छ।









