• २०८३ कार्तिक ९ आइतबार

जियोको आईपीओमा कीर्तिमानी आकर्षण

जियोको आईपीओमा कीर्तिमानी आकर्षण

काठमाडौँ । भारतको रिलायन्स समूहअन्तर्गतको जियो प्लेटफर्म्सको प्राथमिक सेयर निष्कासनमा लगानीकर्ताको अभूतपूर्व आकर्षण देखिएको छ । कम्पनीको आईपीओमा करिब १ करोड ३९ लाख आवेदन परेको छ भने कुल माग ७ लाख ४० हजार करोड भारु अर्थात् ७.४ लाख करोड भारुभन्दा बढी पुगेको छ । 

अक्टोबर २१ देखि २३ सम्म खुलेको आईपीओमा उपलब्ध सेयरको तुलनामा २२.१९ गुणा बढी आवेदन परेको थियो । सार्वजनिक निष्कासनअन्तर्गत मात्रै ४.९ लाख करोड भारुभन्दा बढीको आवेदन परेको छ । आईपीओ खुलेको करिब १०० मिनेटमै पूर्ण आवेदन प्राप्त हुनु पनि भारतीय सेयर बजारको ठूलो निष्कासनमा नयाँ कीर्तिमान बनेको छ । 

आईपीओमा संस्थागत लगानीकर्ताको आकर्षण सबैभन्दा बढी देखिएको छ । योग्य संस्थागत लगानीकर्ताको समूहमा उपलब्ध सेयरको तुलनामा करिब ७०.५५ गुणा आवेदन परेको छ । गैरसंस्थागत लगानीकर्ताको समूहमा १४ गुणा र सर्वसाधारणका लागि छुट्याइएको सेयरमा २.७२ गुणा आवेदन परेको छ ।  

जियो प्लेटफर्म्सले आईपीओमार्फत ३० हजार २१३ करोड भारु जुटाउने लक्ष्य राखेको छ । प्रतिकित्ता १ हजार ६५ देखि १ हजार ११९ भारु मूल्य तोकिएको निष्कासनबाट प्राप्त रकमको ठूलो हिस्सा सहायक कम्पनी रिलायन्स जियो इन्फोकमको ऋण भुक्तानीमा प्रयोग गर्ने योजना छ । 

आईपीओको माथिल्लो मूल्यका आधारमा जियो प्लेटफर्म्सको मूल्याङ्कन करिब १०.८ लाख करोड भारु पुगेको छ । कम्पनीको सेयर अक्टोबर २८ मा भारतीय सेयर बजारमा सूचीकृत हुने अपेक्षा गरिएको छ । दूरसञ्चारसँगै डिजिटल सेवा, कृत्रिम बुद्धिमत्ता र क्लाउड प्रविधिमा विस्तार गर्ने जियोको योजनालाई पनि लगानीकर्ताको आकर्षणको एउटा कारण मानिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै