• २०८३ कार्तिक १ शनिबार

कस्तो छ आजको मौसम पूर्वानुमान ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र हाल देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ ।

महाशाखाले जारी गरेको दशैँ विशेष मौसम बुलेटिनअनुसार नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले दशैँका बेला ठूलो वर्षाको सम्भावना नरहे पनि केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्नेछ ।

आज अष्टमीका दिन देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ। मधेस तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बदली हुने अनुमान छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ ।

हिमाली क्षेत्र तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्नेछ ।

अष्टमीको राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ ।

त्यस्तै, कात्तिक २, ३ र ४ गते अर्थात् नवमीदेखि दशमीसम्म कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बादल लाग्ने पूर्वानुमान छ । देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। यस अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाको पूर्वानुमानअनुसार दशैँका अधिकांश दिन मौसम अनुकूल रहने देखिए पनि हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्नेहरूले सम्भावित वर्षा, हिमपात र चट्याङलाई ध्यानमा राख्नुपर्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै