• २०८३ असोज ३० शुक्रबार

एकदिवसीय मान्यता जोगाउने संघर्षमा नेपाल

एकदिवसीय मान्यता जोगाउने संघर्षमा नेपाल

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल अब छैठौं स्थान सुरक्षित गर्नुपर्ने चुनौतीमा रहेको छ ।

हाल नेपाल दुई खेल खेल्न बाँकी रहदा छैटौँ स्थानमा रहेको छ ।  लिग–२ का शीर्ष चार टोलीले विश्वकप ग्लोबल छनोटमा स्थान बनाउने भएकाले नेपालका लागि अब बाँकी दुई खेल जितेर प्रतियोगिताको अन्तिम स्थान सुधार गर्नु मुख्य चुनौती बनेको छ ।

अंकतालिकामा अमेरिका ३६ खेलबाट ४९ अङ्कसहित शीर्ष स्थानमा छ । स्कटल्यान्ड ३६ खेलबाट ४५ अङ्कसहित दोस्रो र नेदरल्यान्ड्स ३२ खेलबाट ३८ अङ्कसहित तेस्रो स्थानमा छन्। ओमान ३० खेलबाट ३३ अङ्कसहित चौथो स्थानमा रहेको छ । नामिबिया ३६ खेलबाट ३३ अङ्कसहित पाँचौँ स्थानमा छ । नेपालले ३४ खेलबाट २८ अङ्क जोड्दै छैटौँ स्थानमा रहेको छ । क्यानडा ३४ खेलबाट २५ अङ्कसहित सातौँ र संयुक्त अरब इमिरेट्स ३२ खेलबाट १९ अङ्कसहित आठौँ स्थानमा छन् ।  नेपालले अब बाँकी दुई खेल जितेमा अधिकतम ३२ अङ्क बनाउन सक्छ र छैठौ स्थानमै रहन सक्छ । नेपालले कम्तिमा एक खेल जितेमा पनि क्यानडाभन्दा माथि छैठौं स्थानमै रहन सक्छ ।  

लिग–२ को अन्तिम स्थानले विश्वकप छनोटको आगामी चरणमा पुग्ने प्रक्रियालाई पनि प्रभाव पार्नेछ । यद्यपि पाँचौँ र छैटौँ स्थानमा रहने टोलीले स्वतः एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने छन् । नेपालको सिधै विश्वकप क्वालिफायरमा छनौट हुने सम्भावना यसअघि नै सकिएकाले अब विश्वकप क्वालिफायर खेल्न प्लेअफतर्फ जानु पर्ने देखिएको छ । तर पहिलो चुनौती दुई मध्ये एक खेल जितेर छैठौं स्थान सुरक्षित गर्दै एकदिवसीय मान्यता जोगाउनु रहेको छ ।  नेपालले अब लिग-२ अन्तर्गत शनिबार क्यानडासँग र सोमबार ओमानसँग खेल्ने तालिका रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै