• २०८३ असोज २७ मंगलबार

विद्यार्थी केन्द्रित शिक्षा ऐन बनाउन गण्डकीका सरोकारवालासँग शिक्षा संवाद

विद्यार्थी केन्द्रित शिक्षा ऐन बनाउन गण्डकीका सरोकारवालासँग शिक्षा संवाद

पोखरा । प्रस्तावित विद्यालय शिक्षा ऐनलाई व्यावहारिक, समयसापेक्ष र विद्यार्थी केन्द्रित बनाउन शिक्षा तथा खेलकुद मन्त्रालयले गण्डकी प्रदेशका शिक्षा क्षेत्रका सरोकारवालासँग छलफल गरेको छ ।

पोखरामा आयोजित ‘शिक्षा संवाद–भाग २ (गण्डकी प्रदेश छलफल)’ कार्यक्रममा विद्यालय शिक्षाको गुणस्तर सुधार, विद्यार्थीको सिकाइ उपलब्धि, सार्वजनिक तथा निजी शिक्षण संस्थाबीचको सहकार्य र ऐनमा समेट्नुपर्ने विषयमा छलफल भएको हो ।

कार्यक्रममा शिक्षा मन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झा प्रमुख अतिथिका रूपमा सहभागी थिए । मन्त्रालयका राजनीतिक सल्लाहकार सरोज गौतम, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का केन्द्रीय अध्यक्ष युवराज शर्मा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का केन्द्रीय अध्यक्ष कृष्ण अधिकारी, गण्डकी विश्वविद्यालयका उपकुलपति कृष्ण अधिकारी, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) का महासचिव प्रकाश खड्का तथा शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य प्यानलिस्टका रूपमा सहभागी थिए ।

छलफलमा विद्यालय शिक्षासम्बन्धी नीतिगत स्पष्टता, शैक्षिक गुणस्तर अभिवृद्धि र विद्यार्थीको सिकाइ आवश्यकतालाई सम्बोधन गर्ने विषयमा विचार आदानप्रदान भएको थियो ।

मन्त्रालयले शिक्षक, विद्यालय सञ्चालक, शिक्षाविद्, स्थानीय तह तथा अन्य सरोकारवालाबाट प्राप्त सुझावलाई नीति निर्माण प्रक्रियामा समेटेर कक्षाकोठाको वास्तविकता र विद्यार्थीको आवश्यकताअनुसार शिक्षा ऐन निर्माण गर्ने उद्देश्य राखेको जनाएको छ ।

यस्ता संवादबाट प्राप्त सुझावले नेपालको विद्यालय शिक्षा प्रणालीलाई गुणस्तरीय, समावेशी, सिर्जनशील र समयसापेक्ष बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै