काठमाडौँ । पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्ग निर्माणको दिशामा सम्भाव्यता अध्ययन सुरु गरिएको छ ।
पहिलो चरणमा अपिनाम्पा–सैपाल–बडीमालिका र नुम–पाथीभरा सडक खण्डको अध्ययनका लागि नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड र सडक विभागबीच सम्झौता भएको छ ।
सम्झौताअनुसार अपिनाम्पा–सैपाल–बडीमालिका सडक खण्डको १०५ किलोमिटर र नुम–पाथीभरा सडक खण्डको ४५ किलोमिटर क्षेत्रमा सम्भाव्यता अध्ययन गरिनेछ ।
नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडले आयोजनाको प्राविधिक, आर्थिक, सामाजिक तथा वातावरणीय पक्षको अध्ययन गरी प्रतिवेदन तयार गर्नेछ। सोही प्रतिवेदनका आधारमा बडीमालिका, पाथीभरा लगायतका पर्यटकीय क्षेत्रलाई सडक सञ्जालमा जोड्न आवश्यक पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाइनेछ ।
हिमाली क्षेत्रलाई पर्यटनसँग जोड्ने महत्त्वपूर्ण पूर्वाधारका रूपमा हिमाली पर्यटकीय राजमार्गलाई नयाँ कार्यक्रमका रूपमा अघि बढाइएको जनाइएको छ ।









