• २०८३ असोज २६ सोमबार

मुगुमा स्काईभेटरसहित पहिरोमा पुरिएका चालकको गम्भीर अवस्थामा उद्धार

मुगुमा स्काईभेटरसहित पहिरोमा पुरिएका चालकको गम्भीर अवस्थामा उद्धार

मुगु । मुगुको खत्याड गाउँपालिका–११ स्थित बिरा खोलामा सुक्खा पहिरो खस्दा स्काईभेटरसहित पुरिएका चालकको उद्धार गरी अस्पताल पठाइएको छ । दुर्घटनामा स्काईभेटरका सहचालक पनि घाइते भएका छन् ।

सोमबार बिहान करिब ८:३० बजे मुगु–रारा भित्री सडकखण्डअन्तर्गत बेलीब्रिज जोड्ने नयाँ सडक कटिङ गर्ने क्रममा माथिबाट एक्कासि सुक्खा पहिरो खसेको थियो। पहिरोमा बा.३ क. ३२७६ नम्बरको स्काईभेटरसहित चालक पुरिएका थिए।

पहिरोमा पुरिने चालक बझाङको बुङ्गल नगरपालिका–१० निवासी २४ वर्षीय बिमल बाग रहेको प्रहरीले जनाएको छ। बिहान १०:३० बजे जेसीबीको सहायताले पहिरो पन्छाएर उनको उद्धार गरिएको थियो।

गम्भीर अवस्थामा रहेका बागलाई बा.प्र.०१–००४ क. ६४८३ नम्बरको ट्रकमार्फत उपचारका लागि रातापानीस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ।

त्यस्तै, स्काईभेटरका सहचालक मुगुको सोरु गाउँपालिका–१ निवासी २२ वर्षीय विनय मल्ललाई पहिरोसँगै खसेको ढुङ्गाले हात र खुट्टामा सामान्य चोट लागेको छ। उनलाई उपचारका लागि माझचौर मेडिकल पठाइएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै