• २०८३ असोज २४ शनिबार

रोनाल्डोसहितको गोलमा अल नासर विजयी

रोनाल्डोसहितको गोलमा अल नासर विजयी

काठमाडौँ । साउदी प्रो लिगअन्तर्गत अल नासरले अल दिरियाहलाई ३–० गोलले पराजित गरेको छ । गएराति साउदी अरेबियाको रियादस्थित अल अव्वल पार्कमा भएको खेलमा क्रिस्टियानो रोनाल्डो, सामु कोस्टा र किङ्स्ले कोमानले गोल गर्दै अल नासरलाई सहज जित दिलाएका हुन् । 

खेलको २३औँ मिनेटमा रोनाल्डोले गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए । किङ्स्ले कोमानको शक्तिशाली प्रहार विपक्षी गोलकिपर वालिद अब्दुल्लाहले पूर्ण रूपमा रोक्न नसकेपछि प्राप्त अवसरलाई रोनाल्डोले सदुपयोग गरेका थिए । राष्ट्रिय टिममा विवादपछि क्लबमा फर्किएका रोनाल्डोको यो क्यारियरको ९८०औं गोल हो । 

त्यसपछि ३५औँ मिनेटमा सामु कोस्टाले गोल गर्दै अल नासरको अग्रता दोब्बर बनाए । जोआओ फेलिक्सले प्रहार गरेको कर्नरमा कोस्टाले हेडरमार्फत गोल गरेका थिए । दोस्रो हाफमा पनि अल नासरले आक्रमणलाई निरन्तरता दिएको थियो । खेलको ७७औँ मिनेटमा साडियो मानेको पासमा कोमानले गोल गर्दै टोलीको जित ३–० ले सुनिश्चित गरेका थिए ।

यस जितसँगै अल नासरले लिगमा महत्त्वपूर्ण तीन अङ्क जोडेको छ । आठौँ चरणको खेलपछि टोली १९ अङ्कसहित तालिकाको दोस्रो स्थानमा पुगेको छ । समान अङ्क भए पनि गोल अन्तरका आधारमा अल नासर शीर्ष स्थानमा रहेको अल कादसियाभन्दा पछाडि रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय