काठमाडौं । विश्वको प्रमुख प्रविधि तथा विद्युतीय व्यापार कम्पनी अमेजनले पुनः कर्मचारी कटौती थालेको छ ।
रोयटर्सका अनुसार कम्पनीले अमेरिका, भारत र बेलायतमा कार्यरत १ हजारभन्दा कम कार्यालय तहका कर्मचारीलाई रोजगारीबाट हटाएको छ ।
कम्पनीको मुख्य विद्युतीय व्यापार सञ्चालन हेर्ने ‘स्टोर्स’ विभागअन्तर्गत ग्राहक सेवा र बिक्री साझेदार सेवामा कार्यरत कर्मचारी बढी प्रभावित भएका छन् । कम्पनीले आफ्नो संरचनालाई प्राथमिकताअनुकूल बनाउन केही भूमिकामा परिवर्तन गरिएको जनाएको छ ।
यसअघि सन् २०२५ को अक्टोबरदेखि सन् २०२६ को जनवरीसम्म अमेजनले करिब ३० हजार कार्यालय तहका रोजगारी कटौती गरेको थियो । नयाँ कटौतीले विश्वव्यापी प्रविधि क्षेत्रमा कम्पनीहरूको पुनर्संरचना प्रक्रिया अझै जारी रहेको देखाएको छ । अमेजनले रोजगारी कटौतीबाट प्रभावित कर्मचारीलाई आवश्यक सहयोग उपलब्ध गराउने जनाएको छ ।









