काठमाडौं । नेपाल र ओमानबीचको दोस्रो द्विपक्षीय परामर्श बैठक काठमाडौंमा सम्पन्न भएको छ । बैठकमा दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउँदै कृषि, व्यापार, पर्यटन, लगानी, श्रम आप्रवासन तथा संस्कृतिलगायत क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ ।
बैठकमा भोटेकोशी बाढीपछिको पुनर्स्थापना र पुनर्निर्माणका विषयमा समेत छलफल भएको थियो । नेपाली पक्षले ओमानलगायत मित्रराष्ट्रबाट प्राप्त मानवीय सहयोगप्रति आभार व्यक्त गर्दै थप सहयोगको अपेक्षा गरेको जनाएको छ ।
ओमानको काठमाडौंमा दूतावास स्थापना, नेपाल–ओमान मैत्री संस्था गठन तथा सन् २०२७ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठ संयुक्त रूपमा मनाउने तयारीबारे पनि छलफल भएको छ । श्रम आप्रवासनका क्रममा नेपाली श्रमिकको अधिकार र सुरक्षालाई प्राथमिकता दिँदै श्रम तथा जनशक्ति आदानप्रदानसम्बन्धी समझदारीपत्र छिटो टुंग्याउने विषयमा समेत जोड दिइएको छ ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राई र ओमानी प्रतिनिधिमण्डलको नेतृत्व ओमानको परराष्ट्र मन्त्रालयका राजनीतिक मामिला उपसचिव शेख खलिफा अल हर्थीले गरेका थिए ।









