• २०८३ असोज २२ बिहीबार

सवारी चालक अनुमतिपत्रमा अनियमितता गरेको आरोपमा ७ जनाविरुद्ध मुद्दा

सवारी चालक अनुमतिपत्रमा अनियमितता गरेको आरोपमा ७ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध सवारी चालक अनुमतिपत्र वितरणमा अनियमितता गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

अनुसन्धानका क्रममा तत्कालीन कार्यालय प्रमुख यादवले अन्य कर्मचारी तथा ट्राफिक प्रहरीसँग मिलेमतो गरी लिखित तथा प्रयोगात्मक परीक्षामा सहभागी नै नभएका व्यक्तिलाई समेत उत्तीर्ण गराई सवारी चालक अनुमतिपत्र जारी गरेको पाइएको अख्तियारले जनाएको छ ।

आयोगका अनुसार १३ जनालाई नियमविपरीत सवारी चालक अनुमतिपत्र जारी गरिएको थियो। जापानमा वैदेशिक रोजगारीमा रहेका र नेपालमै उपस्थित नभएका एक व्यक्तिलाई समेत लिखित तथा प्रयोगात्मक परीक्षामा उत्तीर्ण गराई जे–१ वर्गको अनुमतिपत्र जारी गरिएको अनुसन्धानबाट खुलेको छ ।

त्यस्तै लिखित परीक्षामा अनुत्तीर्ण भएका ३ जनालाई नतिजा सच्याएर उत्तीर्ण देखाई जे–१ वर्गको तथा ४ जनालाई जे–२ वर्गको अनुमतिपत्र जारी गरिएको पाइएको छ। लिखित परीक्षामै सहभागी नभएका ५ जनालाई प्रयोगात्मक परीक्षामा सहभागी भएको झुटो अभिलेख तयार गरी जे–१ वर्गको अनुमतिपत्र जारी गरिएको अख्तियारको दाबी छ ।

यस क्रममा सरकारी कागजात तथा अभिलेखमा अनधिकृत रूपमा केरमेट, थपघट र हेरफेर गरी परीक्षाको नतिजा परिवर्तन गरिएको आयोगले जनाएको छ ।

आरोपपत्रमा तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादव, मेकानिकल सुपरभाइजर यादवप्रसाद अर्याल, अधिकृत तुल्सीराम अधिकारी र अधिकृत राजीव अर्याल तथा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका तत्कालीन प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेय र प्रहरी निरीक्षक गणेश ज्ञवालीसहित ७ जनाविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवानाको मागदाबी गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै