• २०८३ असोज २२ बिहीबार

२४ दिनदेखि आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल

२४ दिनदेखि आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल

काठमाडौं । वीरगन्जस्थित नेशनल मेडिकल कलेजका ४० भन्दा बढी रेजिडेन्ट डाक्टरले आफूहरूले भोग्दै आएका समस्या समाधानका लागि सरकारसँग पहल गर्न आग्रह गरेका छन् ।

२४ दिनदेखि आन्दोलनरत उनीहरूले मंगलबार शिक्षा तथा खेलकुद मन्त्रालय पुगेर कलेजमा अध्ययन तथा काम गर्ने क्रममा भोगेका समस्या र मागबारे मन्त्रालयका अधिकारीलाई जानकारी गराएका हुन् ।

डाक्टरहरूले कलेज व्यवस्थापनबाट अनावश्यक दबाब र मानसिक यातना दिइएको तथा अध्ययनका लागि उचित वातावरण नरहेको गुनासो गरेका छन् । उनीहरूले समस्या समाधान नभएसम्म कलेजमा फर्किएर अध्ययन गर्ने अवस्था नरहेको बताएका छन् ।

छलफलमा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झासहित मन्त्रालयका अधिकारी तथा चिकित्सा शिक्षा आयोगका उपसचिव रामचन्द्र शर्मा सहभागी थिए ।

झाले सरकार र शिक्षामन्त्री रेजिडेन्ट डाक्टरका समस्याप्रति गम्भीर रहेको बताउँदै छिट्टै समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्। आयोगका उपसचिव शर्माले पनि विद्यार्थीका समस्या समाधान गर्न आवश्यक पहल गर्ने बताएका छन् ।

रेजिडेन्ट डाक्टरहरूले अन्य निजी मेडिकल कलेजमा समेत नक्कली विवरण र नक्कली प्राध्यापक राखिएको दाबी गर्दै छानबिन र कारबाहीको माग गरेका छन् । उनीहरूले सरकारी पहलबाट समस्या समाधान भई शान्तिपूर्ण रूपमा अध्ययनमा फर्कने वातावरण बन्ने अपेक्षा गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै