काठमाडौं । भारतले नेपालका लागि नयाँ राजदूतका रूपमा करियर कूटनीतिज्ञ सुधाकर दलेलाको नाम प्रस्ताव गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल गत साता सकिएपछि भारतले दलेलालाई प्रस्ताव गरेको हो ।
दलेला भारतीय विदेश सेवाको सन् १९९३ ब्याचका अधिकारी हुन् । भारतीय विदेश मन्त्रालयको विवरणअनुसार उनले सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतीय राजदूतका रूपमा काम गरेका थिए । हाल उनी विदेश मन्त्रालयमा आर्थिक सम्बन्धसम्बन्धी सचिवका रूपमा कार्यरत रहेको विवरणमा उल्लेख छ।
दलेलाको नेपालसँग सम्बन्धित कामको अनुभवसमेत रहेको छ । काठमाडौंस्थित भारतीय दूतावासको पुरानो सार्वजनिक विवरणअनुसार उनी विदेश मन्त्रालयको उत्तर महाशाखाका सहसचिव हुँदा नेपालमा भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी संवादमा सहभागी भएका थिए ।
भुटानका लागि राजदूत तथा वासिङ्टनस्थित भारतीय दूतावासमा उपनियोग प्रमुखका रूपमा काम गरेको अनुभवले दलेलाको छिमेकी सम्बन्ध र अन्तर्राष्ट्रिय कूटनीतिमा अनुभव रहेको देखाउछ।









