जनकपुरधाम । राजर्षिजनक विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५१ करोड १७ लाख २ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
बजेटमा पूँजीगततर्फ २१ करोड ८ लाख ९५ हजार र सञ्चालनतर्फ ३० करोड ८ लाख ७ हजार रुपैयाँ विनियोजन प्रस्ताव गरिएको छ। विश्वविद्यालयले नयाँ शैक्षिक कार्यक्रम विस्तार, भौतिक पूर्वाधार विकास, अनुसन्धान र डिजिटलाइजेशनलाई प्राथमिकता दिएको छ।
विश्वविद्यालयमा हाल ५ हजार ९२७ विद्यार्थी अध्ययनरत छन्। स्नातक तथा स्नातकोत्तर तहमा २० भन्दा बढी कार्यक्रम सञ्चालन हुँदै आएकोमा बिआइटी, एमसीए, बीए एलएलबी र एलएलएमलगायत ९ नयाँ कार्यक्रमसमेत सञ्चालनमा ल्याइएको छ ।
आगामी शैक्षिक सत्रमा कम्तीमा ५ हजार नयाँ विद्यार्थी भर्ना गर्ने लक्ष्य राखिएको छ। साथै, धनुषाको नगराइनमा ९ बिघा १४ कठ्ठा जग्गामा आधुनिक शैक्षिक भवन निर्माण तथा रौतहटको गौरमा बहुमुखी क्याम्पस भवन निर्माण अघि बढाउने योजना छ ।
विश्वविद्यालयले आगामी आर्थिक वर्षदेखि ‘रिसर्च एन्ड इनोभेसन’ निकाय स्थापना गर्ने तथा प्रशासन, परीक्षा, भर्ना, लेखा र मानव संसाधन प्रणालीलाई अनलाइन र केन्द्रीकृत बनाउने जनाएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेशको सार्वजनिक शिक्षा सुधारमा राजर्षिजनक विश्वविद्यालयको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।









