म्याग्दी । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढी र विभिन्न स्थानमा गएको पहिरोले अवरुद्ध भएको बेनी–जोमसोम–कोरला सडकखण्ड सञ्चालनमा ल्याउने काम तीव्र पारिएको छ।
बाढी र पहिरोका कारण सडकखण्डका ५० भन्दा बढी स्थानमा यातायात अवरुद्ध भएको थियो। हाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा कालीगण्डकीले बगाएको पुलको एप्रोच सडक र रघुगङ्गा गाउँपालिका–२ कुनौटाबाहेक अन्य सबै स्थानमा पहिरो पन्छाएर ट्रयाक खोल्ने काम सम्पन्न भएको छ।
अवरुद्ध स्थानमा सडक स्तरोन्नति तथा आवश्यक मर्मतसम्भारको काम निरन्तर भइरहेको छ। पोखरेबगरमा ग्याबियन टो–वाल निर्माण गरी सडकतर्फ माटो भर्ने काम भइरहेको छ । त्यस्तै, कुनौटामा एक्साभेटर प्रयोग गरेर ट्रयाक खोल्ने काम तीव्र गतिमा अघि बढाइएको छ। दुवै स्थानमा कामलाई थप तीव्रता दिइएको छ।
निर्माण तथा मर्मतको काम निर्धारित गतिमा अघि बढे आगामी सोमबारसम्म बेनी–जोमसोम–कोरला सडकमा सवारीसाधन सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ।









