काठमाडौं । देशका ७४ जिल्लामा स्क्रब टाइफस संक्रमण देखिएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रोगको निगरानी, परीक्षण, उपचार र जनचेतनामूलक गतिविधिलाई तीव्र बनाएको छ ।
इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२६ को जनवरीदेखि हालसम्म ७४ जिल्लाबाट १० हजार २१० जना संक्रमित भएका छन् । तीमध्ये ७ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ ।
संक्रमणको अवस्था हेर्दै महाशाखाले असारदेखि सातै प्रदेशका सबै जिल्लाका साथै केही स्थानीय तहका प्रमुख र प्रदेश सचिवसँग स्क्रब टाइफस रोकथाम तथा नियन्त्रणबारे छलफल गर्दै आएको जनाएको छ । ईडब्लुएआरएस र सोर्मास लगायतका रोग निगरानी प्रणालीमार्फत संक्रमणको अवस्था र प्रवृत्तिको नियमित अनुगमन भइरहेको मन्त्रालयले जनाएको छ ।
संक्रमण बढी देखिएका क्षेत्रमा परीक्षण तथा उपचारका लागि आवश्यक सामग्री र औषधि उपलब्ध गराउने कामसमेत भइरहेको छ ।
स्क्रब टाइफस परीक्षणका लागि आवश्यक द्रुत परीक्षण किट प्रदेश तथा स्थानीय तहमा पठाइएको छ भने स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा ५ हजार परीक्षण किट बफर स्टकमा राखिएको छ । आवश्यक एन्टिबायोटिकलगायत औषधिसमेत उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । रोगको समयमै पहिचान र प्रभावकारी उपचारका लागि स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिमा समेत मन्त्रालयले जोड दिएको छ । असार महिनामा मात्रै करिब १ हजार चिकित्सक तथा स्वास्थ्यकर्मीलाई स्क्रब टाइफसको निदान तथा उपचारसम्बन्धी तालिम र अभिमुखीकरण दिइएको छ ।
यससँगै राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रमार्फत रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी स्वास्थ्य शिक्षा सामग्री प्रसारण भइरहेको छ। संक्रमण बढी देखिएका क्षेत्रमा निगरानी, परीक्षण, उपचारको पहुँच विस्तार, स्वास्थ्यकर्मी परिचालन र स्थानीय तहसँगको समन्वयलाई निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ ।









