काठमाडौँ । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभाका क्रममा प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले चिनियाँ प्रतिनिधिमण्डलसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटमा सभामुख अर्यालले नेपाल–चीन सम्बन्ध निकट मित्रता, असल छिमेकीपन, पारस्परिक सम्मान तथा पञ्चशीलका सिद्धान्तमा आधारित रहेको बताए। उनले नेपाल ‘एक चीन नीति’प्रति दृढ प्रतिबद्ध रहेको र नेपाली भूमि चीनविरुद्ध कुनै पनि शत्रुतापूर्ण गतिविधिका लागि प्रयोग हुन नदिने स्पष्ट पारे । अर्यालले नेपाललाई भू–परिवेष्टित मुलुकबाट भू–जडित मुलुकमा रूपान्तरण गर्न चीनले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै विकास सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
हालै रसुवामा आएको बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले बेपत्ता चिनियाँ नागरिकका परिवारप्रति समवेदना व्यक्त गरे । विपद्का क्रममा चीनले उपलब्ध गराएको आपत्कालीन आर्थिक सहयोग, मानवीय सहायता तथा खोज तथा उद्धारका लागि परिचालित विशेषज्ञ टोली, ड्रोनलगायत सहयोगप्रति पनि उनले धन्यवाद दिए । भेटमा नेपाल–चीन संसदीय सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको थियो। सभामुख अर्यालले दुई देशबीचको संसदीय मैत्री समूह तथा प्रतिनिधि सभा र चीनको राष्ट्रिय जनकांग्रेसबीचको अन्तरसंसदीय सहकार्यले संसदीय आदानप्रदानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । उनले आईपीयूको एसिया–प्रशान्त समूहमा नेपाल र चीनका संसद्बीच सहकार्य गर्दै दिगो विकास, जलवायु परिवर्तन, विपद् उत्थानशीलता तथा संसदीय कार्यमा प्रविधिको प्रयोगका क्षेत्रमा अनुभव आदानप्रदान गर्नुपर्ने बताए ।
सभामुख अर्यालले नेपालमा चीनको सहयोगमा सञ्चालित विकास आयोजना तथा चिनियाँ लगानीप्रति धन्यवाद दिँदै आगामी दिनमा व्यापार, लगानी, विकास तथा जनस्तरीय र सांस्कृतिक सम्बन्धमा सहकार्य थप विस्तार हुने विश्वास व्यक्त गरेका थिए ।









