काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल विद्युतीय माध्यमबाट भुक्तानी गर्ने प्रणालीलाई थप प्रभावकारी र व्यापक बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।
हेटौँडामा विद्युत् वितरण केन्द्रका प्रमुखहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले नागरिकले बिजुलीको बिल तिर्न कार्यालयमा घण्टौँ लाइन बस्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताए । उनले विद्युतीय भुक्तानीलाई अभियानकै रूपमा विस्तार गरी यसबारे जनचेतना बढाउन निर्देशन दिए ।
उनका अनुसार विद्युतीय भुक्तानीको प्रयोग बढे पनि पछिल्लो समय यसको वृद्धिदर सन्तोषजनक छैन। डिजिटल भुक्तानी विस्तारले नागरिकको समय बचत हुनुका साथै प्राधिकरणको खर्च घटाउने र जनशक्तिलाई ग्राहकको गुनासो सम्बोधनलगायतका काममा परिचालन गर्न सकिने उनको भनाइ छ ।
मन्त्री श्रेष्ठले विद्युत् ट्रिपिङ हुँदा ग्राहकलाई समयमै जानकारी र सेवा दिन तथा विद्युत् चुहावट नियन्त्रणमा विशेष ध्यान दिन पनि निर्देशन दिए । विद्युत् संरचनाको नियमित मर्मत, संरक्षण र गस्तीलाई प्रभावकारी बनाउन तथा कार्यालय सञ्चालनमा सुशासन र शासकीय सुधारलाई प्राथमिकता दिन उनले वितरण केन्द्र प्रमुखहरूलाई आग्रह गरेका थिए ।









