काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले समृद्ध र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि आर्थिक कूटनीतिलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।
काठमाडौंमा आज आयोजित ‘समृद्ध नेपालका लागि आर्थिक कूटनीति’ विषयक चौथो एआइडिया नेपाल विशिष्ट व्याख्यान शृंखलामा मुख्य वक्ताका रूपमा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री खनालले नेपालको परराष्ट्र नीति मुलुकको आन्तरिक रूपान्तरणका लागि सक्रिय बाह्य माध्यमका रूपमा प्रयोग हुनुपर्ने बताए। बलियो र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक प्रयासलाई प्रत्यक्ष रूपमा जोड्नुपर्ने उनको भनाइ थियो ।
उनले नेपालको रणनीतिक भौगोलिक अवस्थालाई मुलुकको सबैभन्दा ठूलो प्राकृतिक सम्पत्तिका रूपमा उपयोग गर्नुपर्ने बताए । सहज अन्तरदेशीय सम्पर्क, स्वच्छ ऊर्जा निर्यात, डिजिटल नवप्रवर्तन तथा स्वदेशी र अन्तर्राष्ट्रिय पुँजी साझेदारीमार्फत नेपाललाई क्षेत्रीय आर्थिक सेतुका रूपमा विकास गर्नुपर्ने उनले बताए ।
मन्त्री खनालले जलवायु न्यायप्रति नेपालको प्रतिबद्धता दोहोर्याउँदै यस विषयमा अन्तर्राष्ट्रिय समुदायसँग थप सहकार्य आवश्यक रहेको बताउदै राष्ट्रिय समृद्धिका लागि सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारबीच एकीकृत र साझा प्रयास आवश्यक रहेकोमा पनि उनले जोड दिए ।









