• २०८३ असोज १६ शुक्रबार

नेपालका ८ सयभन्दा बढी ऐतिहासिक दस्तावेज राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण

नेपालका ८ सयभन्दा बढी ऐतिहासिक दस्तावेज राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण

काठमाडौं । नेपालका १३औँ देखि २०औँ शताब्दीसम्मका ८ सयभन्दा बढी ऐतिहासिक हस्तलिखित ग्रन्थ तथा दस्तावेज राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गरिएको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जर्मनीस्थित हाइडेलबर्ग विश्वविद्यालय तथा हाइडेलबर्ग विज्ञान तथा मानविकी प्रज्ञा प्रतिष्ठानका प्राध्यापक डा. एक्सेल माइकल्सले ती ऐतिहासिक सामग्री औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।

‘जोसेफ पिटर रिन्डफ्लाइस’ संग्रहमा रहेका ती दस्तावेज नेपालका लिखित सांस्कृतिक सम्पदाका महत्वपूर्ण सामग्रीका रूपमा रहेका छन् । हस्तान्तरण कार्यक्रममा परराष्ट्रमन्त्री खनालले ऐतिहासिक दस्तावेज नेपाल फर्किनु देशको लिखित सांस्कृतिक सम्पदाको संरक्षण, सुरक्षा र प्रवर्द्धनका दृष्टिले महत्वपूर्ण उपलब्धि भएको बताए ।

खनालले ऐतिहासिक सामग्री नेपाल फर्काउन योगदान गर्ने प्राध्यापक डा. एक्सेल माइकल्स, हाइडेलबर्ग विश्वविद्यालय, हाइडेलबर्ग विज्ञान तथा मानविकी प्रज्ञा प्रतिष्ठान, बर्लिनस्थित नेपाली दूतावास, विभिन्न विद्वान्, अनुसन्धानकर्ता तथा सम्बन्धित संस्थालाई धन्यवाद दिएका थिए । उनले विश्वका विभिन्न स्थानमा रहेका नेपालका ऐतिहासिक सम्पदा आगामी दिनमा पनि स्वदेश फिर्ता ल्याउन सरकार प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय अभिलेखालयका महानिर्देशक रामबहादुर कुँवर, प्राध्यापक डा. एक्सेल माइकल्स र नेपालका लागि जर्मनीका राजदूत उडो युगेन फोल्जले पनि मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाल सरकारका उच्च अधिकारी, विद्वान्, अनुसन्धानकर्ता, सांस्कृतिक क्षेत्रका विज्ञ तथा सञ्चारकर्मीहरूको सहभागिता थियो ।

ऐतिहासिक दस्तावेज हस्तान्तरण कार्यक्रम राष्ट्रिय अभिलेखालय, हाइडेलबर्ग अन्तरसांस्कृतिक अध्ययन केन्द्र, हाइडेलबर्ग विज्ञान तथा मानविकी प्रज्ञा प्रतिष्ठान र सराफ प्रतिष्ठानको संयुक्त आयोजनामा भएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै