काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बाः एक योद्धा’ ले विस्तारै गति समातेको छ ।
पहिलो दिन ६ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको चलचित्रले बिहीबारसम्म १ करोड ११ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
सात दिनमा यो चलचित्र ४० हजार ८२३ दर्शकले हेरेका छन् । क्रमशः दर्शकको फ्लो हलमा बढाउँदै गएको चलचित्र आजबाट दोस्रो हप्तामा प्रवेश गरेको छ ।
दर्शकको माया बढ्दै जाँदा र शोहरु भरिँदै जाँदा बक्सअफिस पनि विस्तारै उचालिँदैछ । सिनेमाको ग्रसकलेक्सन रकम हरेक दिन उकालो लाग्ने क्रममा रहेको छ ।
चलचित्रको शो संख्या पनि विस्तारै हलहरुले बढाइरहेका छन् । वितरकका अनुसार देशभर चलचित्रले एक सयभन्दा बढी शो पाएको छ । दर्शकको माग बढ्दै गएपछि विभिन्न हलहरूले थप शो थपिरहेका छन् । चलचित्रको कथा नेपाली समाजमा सन्तानको भविष्यका लागि बाबुले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीमा केन्द्रित छ । सन्तानको इच्छा पूरा गर्न आमाबाबुले गर्ने संघर्षदेखि वृद्ध अवस्थामा उनीहरूले पाउने उपेक्षा र दुःखसम्मका विषयलाई चलचित्रले कथाको केन्द्रमा राखेको छ ।
चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारको अभिनय रहेको छ । हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘बाः एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रको कथा तथा पटकथा पनि निर्देशक लम्सालकै रहेको छ । चलचित्रका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता रहेका छन् । अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माताका रूपमा छन् ।









