काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिबापत २ हजार १८० वटा बीमा दाबी परेको छ ।
नेपाल बीमा प्राधिकरणको विवरणअनुसार असोज १२ गतेसम्म प्राप्त दाबीको प्रारम्भिक अनुमानित रकम २० अर्ब ९८ करोड ८७ लाखभन्दा बढी रहेको छ । यो विवरण भदौ १० गतेको बाढीबाट भएको क्षतिसम्बन्धी हो ।
बीमालेखको प्रकारअनुसार सम्पत्ति बीमामा ५१८ वटा दाबी परेको छ, जसको अनुमानित रकम ९ अर्ब ४१ करोड ५८ लाख रुपैयाँभन्दा बढी छ । इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा १६५ दाबीको अनुमानित रकम ४ अर्ब ४१ करोड ४५ लाख रुपैयाँभन्दा बढी छ।
मोटर बीमामा सबैभन्दा धेरै १ हजार ६६ वटा दाबी परेका छन् । यस शीर्षकमा अनुमानित दाबी रकम ३ अर्ब ७ करोड ९३ लाख रुपैयाँभन्दा बढी छ । परिवहन बीमामा १०४ दाबीको रकम २ अर्ब ४८ करोड ५१ लाख रुपैयाँभन्दा बढी, अन्य बीमामा २७२ दाबीको रकम १ अर्ब ३६ करोड ५२ लाख रुपैयाँभन्दा बढी र स्वास्थ्य बीमामा २८ दाबीको रकम २ करोड २५ लाख रुपैयाँभन्दा बढी रहेको छ।
प्राधिकरणको तालिकाअनुसार अग्रिम भुक्तानीसमेत जोड्दा हालसम्म ६७ लाख ४८ हजार रुपैयाँभन्दा बढी दाबी रकम भुक्तानी भएको छ । यसमध्ये सम्पत्ति बीमामा करिब ३८ लाख १४ हजार, मोटर बीमामा करिब २४ लाख १० हजार र अन्य बीमामा करिब ५ लाख २ हजार रुपैयाँ भुक्तानी भएको देखिन्छ। परिवहन र इन्जिनियरिङ बीमामा पनि साना रकम भुक्तानी भएको विवरण छ।









