काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरी नियन्त्रणमा लिइएको घटनाप्रति न्यायाधीश समाज, नेपालले आपत्ति जनाएको छ ।
समाजले सुरक्षा खतराको कारण देखाएर नियन्त्रणमा लिने प्रक्रिया स्वाभाविक र प्रचलित कानुनअनुरूप नभएको जनाएको छ । समाजले कसैलाई सुरक्षा खतरा भए राज्यले उसको निवास वा उसले रोजेको स्थानमा सुरक्षा उपलब्ध गराउनुपर्ने उल्लेख छ । जबरा राज्यले उपलब्ध गराएको सुरक्षाकर्मीसहित आफ्नै निवासमा रहेको र आवश्यक परे सुरक्षाकर्मी थप्न सकिने अवस्था हुँदाहुँदै उनलाई जबर्जस्ती प्रहरी कार्यालय, त्यसमा पनि अपराध अनुसन्धान कार्यालयमा लगिएकोप्रति समाजले प्रश्न उठाएको छ ।
जबरालाई कसबाट र कस्तो सुरक्षा खतरा थियो तथा खतरा उत्पन्न गर्ने व्यक्तिमाथि के कारबाही गरियो भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक नभएको समाजको भनाइ छ । यसले नियन्त्रणमा लिनुको पछाडि अरू उद्देश्य त थिएन भन्ने आशंका उब्जाएको विज्ञप्तिमा उल्लेख छ । बिना उचित कारण सुरक्षा खतराको नाममा पूर्वप्रधानन्यायाधीशजस्तो सम्मानित व्यक्तिलाई रातारात नियन्त्रणमा लिँदा न्यायिक क्षेत्रका अन्य व्यक्तिसमेत त्रसित हुन सक्ने भन्दै समाजले राज्यका निकायलाई सुरक्षा व्यवस्था गर्दा यसतर्फ ध्यान दिन आग्रह गरेको छ ।









