काठमाडौं । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा घरमा सुतिरहेको अवस्थामा नेपाल प्रहरीका अधिकृतले उठाएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा लगेको घटनाप्रति सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठक (फुलकोर्ट) ले असोज १० गते मध्यरातमा चोलेन्द्रशमशेरलाई घरबाट उठाई टेकुमा लगेर करिब १० घण्टा राखी पुनः परिवारको जिम्मा लगाइएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
सर्वोच्चले नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकालाई लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मूल्यका रूपमा आत्मसात् गरेको उल्लेख गर्दै पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीश तथा बहालवाला न्यायाधीश र न्यायिक जनशक्ति स्वतन्त्र न्यायपालिकाका अभिन्न अंग रहेको जनाएको छ ।
न्यायिक जनशक्तिप्रति राज्यका निकायले गर्ने व्यवहार सदैव संवेदनशील र गम्भीर विषय हुने सर्वोच्चको भनाइ छ । प्रत्येक नेपाली नागरिकको वैयक्तिक स्वतन्त्रता तथा सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणका लागि प्रचलित कानुनले निर्धारण गरेको उचित प्रक्रिया अपनाएर मात्र नियन्त्रणमा लिन सकिने सर्वोच्चले जनाएको छ । उचित कानुनी प्रक्रिया पूरा नगरी गरिने कामकारबाहीमा स्वेच्छाचारिता रहने भन्दै सर्वोच्चले त्यस्तो कार्य लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने जनाएको छ ।
सर्वोच्चले कुनै पनि पूर्व पदाधिकारीसँग जोडेर न्याय सम्पादनका क्रममा भएका वा हुने कुनै पनि कामकारबाहीलाई चित्रण वा सम्प्रेषण नगरिदिन सम्बन्धित सबै सरोकारवालालाई अनुरोधसमेत गरेको छ ।
न्यायपालिकाबाट सम्पादन हुने न्यायसम्पादनलगायत हरेक कामकारबाहीमा बाह्य वा आन्तरिक कुनै पनि प्रकारको प्रभावलाई स्थान नदिइने विश्वाससमेत सर्वोच्चले व्यक्त गरेको सर्वोच्च अदालतका प्रवक्ता तथा सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले उल्लेख गरेका छन् ।









