• २०८३ असोज ११ आइतबार

नारायणी र यसका प्रमुख सहायक नदीहरूमा बाढीको उच्च जोखिम

नारायणी र यसका प्रमुख सहायक नदीहरूमा बाढीको उच्च जोखिम

काठमाडौं । देशभर जारी निरन्तरको भारी वर्षाका कारण नारायणी नदी तथा यसका प्रमुख सहायक नदीहरूमा बाढीको उच्च जोखिम बढेको छ ।

बाढी पूर्वानुमान महाशाखाले आइतबार विहान विशेष चेतावनी जारी गर्दै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदीमा जलसतह खतराको तह (९.० मिटर) नाघेर करिब ११.० मिटर पुगिसकेको छ । नदीमा पानीको बहाव निरन्तर बढ्दो क्रममा छ । देवघाटस्थित बाढी मापन केन्द्रका अनुसार नारायणी नदीको बहाव आज दिउँसोसम्म अझै तीव्र रूपमा बढ्ने आकलन गरिएको छ । महाशाखाका अनुसार आज बिहान ११ बजे आसपास जलसतह बढेर करिब १३.० मिटरसम्म पुग्न सक्ने सम्भावना छ ।

आज साँझसम्मै जलसतह खतराको तहभन्दा माथि नै रहने र सहायक नदीहरूमा पनि दिउँसोसम्म उच्च बहाव कायम रहने पूर्वानुमान छ । नारायणी नदीको ठूलो बाढीका कारण चितवन र नवलपरासीका तटीय, होचा तथा डुबान सम्भावित क्षेत्रहरू उच्च जोखिममा परेका छन् ।

नदी किनारका तल्लो भूभाग, कमजोर तटबन्ध तथा बाढीको जोखिम भएका बस्तीहरूमा पानी पस्ने खतरा उच्च रहेकाले जोखिमयुक्त क्षेत्रका नागरिकलाई ढिलाइ नगरी तत्कालै सुरक्षित तथा अग्लो स्थानतर्फ जान अनुरोध गरिएको छ ।

महाशाखाले नदी तथा तटीय क्षेत्रमा आवतजावत नगर्न र जोखिमयुक्त क्षेत्रमा अनावश्यक भिड नगर्न आग्रह गरेको छ। साथै, कालीगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौँदी, चेपे, बुढीगण्डकी र त्रिशूली नदी क्षेत्रमा साँझसम्मै उच्च सतर्कता अपनाउन विशेष अपिल गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै