काठमाडौँ । पूर्वभारतीय क्रिकेटर विनोद काम्बलीको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा ५४ वर्षीय काम्बली वृद्धाश्रममा देखिएका छन् । यही भिडियोका आधारमा उनी ठाणेस्थित एक वृद्धाश्रममा बसिरहेको दाबी गरिएको छ । तर, यो दाबीको स्वतन्त्र पुष्टि भने हुन नसकेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
भाइरल भिडियोमा काम्बलीले वृद्धाश्रमको सुविधा र सरसफाइको प्रशंसा गरेका छन् । त्यहाँको वातावरणबारे सकारात्मक धारणा राख्दै उनले आफूलाई उक्त केन्द्रमा घरमै बसेजस्तो महसुस भइरहेको बताएका छन् ।
भिडियोमा काम्बलीको बोल्ने शैलीलाई लिएर सामाजिक सञ्जालका केही प्रयोगकर्ताले उनको स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गरेका छन् । यद्यपि, भिडियोका आधारमा उनको स्वास्थ्य अवस्थाबारे कुनै निष्कर्ष निकाल्न सकिने अवस्था छैन ।
यसअघि स्वास्थ्यमा समस्या देखिएपछि काम्बलीलाई ठाणेको एक निजी अस्पतालमा भर्ना गरिएको थियो । उनलाई पिसाबमा संक्रमण र मांसपेशीमा ऐंठनको समस्या देखिएको थियो । परीक्षणका क्रममा उनको मस्तिष्कमा रक्तकोष जमेको समेत पत्ता लागेको थियो। करिब दुई साता उपचारपछि उनको स्वास्थ्यमा सुधार आएको थियो ।
काम्बलीले सन् १९९३ देखि २००० सम्म भारतका लागि १७ टेस्ट र १०४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए । उनी टेस्ट क्रिकेटमा एक हजार रन पूरा गर्ने सबैभन्दा छिटो भारतीय ब्याट्सम्यानका रूपमा परिचित छन् ।
काम्बलीले १७ टेस्टमा ५४.२० को औसतमा १ हजार ८४ रन बनाएका थिए । उनले टेस्टमा चार शतक र तीन अर्धशतक प्रहार गरेका थिए । त्यस्तै, १०४ एकदिवसीय खेलमा उनले ३२.५९ को औसतमा २ हजार ४७७ रन बनाएका थिए । एकदिवसीय क्रिकेटमा उनको नाममा दुई शतक र १४ अर्धशतक छन् ।
प्रथम श्रेणी क्रिकेटमा काम्बलीले १२९ खेलबाट ५९.६७ को औसतमा ९ हजार ९६५ रन बनाएका थिए । यस क्रममा उनले ३५ शतक र ४४ अर्धशतक प्रहार गरेका थिए । त्यस्तै, २२१ सूची ‘ए’ खेलमा उनले ४१.२४ को औसतमा ६ हजार ४७६ रन बनाएका थिए । यसमा ११ शतक र ३५ अर्धशतक समावेश छन् ।









