काठमाडौँ । नेसन्स लिगको नयाँ सिजनको पहिलो खेलमा फ्रान्सले टर्कीलाई १-० ले पराजित गरेको छ । फ्रान्सका लागि खेलको एकमात्र गोल कप्तान किलियन एम्बाप्पेले गरेका थिए ।
टर्कीको कोकाइली रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि पहिलो हाफमा गोल हुन सकेन ।
खेलको ५४औँ मिनेटमा एम्बाप्पेले माइकल ओलिसेको पासमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । तर गोल गरेलगत्तै एम्बाप्पे घाइते भएका थिए र ५९औँ मिनेटमा उनलाई मैदानबाट बाहिर निकालिएको थियो । उनको स्थानमा डिजिरे डुए मैदान प्रवेश गरेका थिए ।
फ्रान्सका लागि यो नयाँ प्रशिक्षक जिनेदिन जिदानको पहिलो प्रतिस्पर्धात्मक खेल थियो । जिदानले विश्वकपपछि फ्रान्सको प्रशिक्षक पद सम्हालेका थिए ।
खेलको अन्तिमतिर टर्कीका गोलरक्षक उगुर्चान चाकिरले क्षेत्रबाहिर हातले बल रोकेपछि रातो कार्ड पाएका थिए। त्यसपछि टर्की १० खेलाडीमा सीमित भएको थियो ।
फ्रान्सको प्रशिक्षक बनेका जिनेदिन जिदानको नेतृत्वमा पहिलो खेलमा जित हासिल गरेको छ । टर्कीले भने पहिलो खेलमै हार बेहोरेको छ । फ्रान्सले अब २८ सेप्टेम्बरमा बेल्जियमसँग खेल्नेछ भने टर्कीले सोही दिन इटालीको सामना गर्नेछ ।









