काठमाडौं । सरकारले खेलकुद क्षेत्रको विकासका लागि सातै प्रदेशका २७ स्थानमा नयाँ खेलकुद पूर्वाधार निर्माण गर्ने भएको छ ।
यससम्बन्धी समझदारीपत्रमा बिहीबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहरा र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले हस्ताक्षर गरेका छन् ।
मन्त्री पोखरेलले तल्लो तहबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले खेलकुद पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताए। पहिलो चरणमा सातै प्रदेशमा क्रिकेट रंगशाला, फुटबल रंगशाला र कभर्ड हल निर्माण गरिने उनले जानकारी दिए ।
विद्यालय तहदेखि खेलकुदप्रति आकर्षण बढाउन पाठ्यक्रममा समेत खेलकुदलाई जोड्ने तयारी भइरहेको मन्त्री पोखरेलले बताए। नयाँ पूर्वाधारले विद्यालय तहबाटै खेलाडी उत्पादनमा सहयोग पुग्ने उनको भनाइ छ ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत आगामी तीन वर्षभित्र ८ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगशाला स्तरोन्नति गर्ने तथा विराटनगर, लहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा कम्तीमा २ हजार दर्शक क्षमताका बहुउद्देश्यीय रंगशाला निर्माण गर्ने लक्ष्य राखेको छ । त्यस्तै, प्रमुख आठ सहरमा आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने योजना अघि सारिएको छ ।
आगामी तीन वर्षभित्र ती प्रत्येक पूर्वाधारमा २५ करोड रुपैयाँसम्म लगानी गरी निर्माण तथा स्तरोन्नति गरिने:
फुटबल रंगशाला :
झापाको भद्रपुरस्थित मेची रंगशाला
झापाको आदिवासी जनजागृति रंगशाला (नयाँ)
पर्साको वीरगञ्जस्थित नारायणी रंगशाला
चितवन रंगशाला (नयाँ)
बाँकेको नेपालगञ्ज रंगशाला
सुर्खेत रंगशाला
कैलालीको धनगढी रंगशाला
काठमाडौंको दशरथ रंगशाला
कास्कीको पोखरा रंगशाला
रुपन्देहीको बुटवल एन्फा कम्प्लेक्स
मोरङको सहिद रंगशाला
सुनसरीको धरान रंगशाला
बाँकेको कोहलपुर फुटबल रंगशाला
क्रिकेट रंगशाला :
जनकपुरस्थित रामजानकी क्रिकेट रंगशाला
विराटनगरस्थित बैजनाथपुर क्रिकेट रंगशाला
बाँकेको कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला
सुर्खेतस्थित चाँदनी चोक क्रिकेट रंगशाला
धनगढीस्थित फाप्ला क्रिकेट रंगशाला
काठमाडौंस्थित तल्लो मुलपानी क्रिकेट रंगशाला
कास्कीस्थित पोखरा क्रिकेट रंगशाला
इन्डोर कभर्डहल :
लुम्बिनीको बुटवल
गण्डकीको पोखरा रंगशाला
मधेशको सिरहास्थित लहान
कोशीको मोरङस्थित विराटनगर
कर्णालीको कर्णाली प्रदेश रंगशाला
सुदूरपश्चिमको फाप्ला खेलग्राम
बागमतीको काठमाडौं




2026-09-24-06-53-13_1000x667_50.webp)




