• २०८३ असोज ८ बिहीबार

२०२८ सम्म सबै डिजिटल काममा एआईले मानिसलाई पछि पार्ने मस्कको दाबी

२०२८ सम्म सबै डिजिटल काममा एआईले मानिसलाई पछि पार्ने मस्कको दाबी

काठमाडौँ । एलन मस्कले सन् २०२८ सम्म कृत्रिम बुद्धिमत्ता (एआई) ले विश्वका सबै डिजिटल क्षेत्र र ज्ञानमा आधारित काममा मानिसलाई पछि पार्ने दाबी गरेका छन् । उनले कृत्रिम बुद्धिमत्तासम्बन्धी अनुसन्धानकर्ता फ्राँस्वा शोलेको भविष्यवाणीको प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

शोलेले सन् २०२१ मा आगामी १० देखि २० वर्षमा भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान र पुरातत्त्वलगायत अधिकांश वैज्ञानिक क्षेत्र मूलतः कम्प्युटर विज्ञानकै शाखा बन्ने बताएका थिए । हालै उनले पुरानो भनाइ सार्वजनिक गर्दै आफ्नो भविष्यवाणी सही दिशामा अघि बढिरहेको बताएका थिए । तर मस्कले यो समयसीमा पनि लामो भएको भन्दै परिवर्तन अझ तीव्र गतिमा हुने दाबी गरेका छन् ।

मस्कका अनुसार कोडिङ, अनुसन्धान, लेखन, कानुनी विश्लेषण, लेखा र तथ्यांक विश्लेषणजस्ता डिजिटल काममा कृत्रिम बुद्धिमत्ताले सन् २०२७ को अन्त्य वा २०२८ सम्म मानिसलाई पूर्ण रूपमा पछि पार्न सक्नेछ । उनका अनुसार आगामी वर्षसम्म कृत्रिम बुद्धिमत्ता सफ्टवेयर निर्माणमा चेस खेल्ने ‘स्टकफिस’जस्तो स्तरमा पुग्ने भएकाले मानिसले त्यससँग प्रतिस्पर्धा गर्न कठिन हुनेछ ।

मानिसले शारीरिक रूपमा गर्नुपर्ने उत्पादन र निर्माणजस्ता काममा भने कृत्रिम बुद्धिमत्तालाई मानिसको बराबरीमा पुग्न थप समय लाग्ने मस्कको भनाइ छ । त्यसका लागि उनले मानव आकृतिको ‘अप्टिमस’ रोबोटमा काम गरिरहेका छन् । शोलेले भने जीवविज्ञान, प्रोटिन संरचना, नयाँ पदार्थको खोज तथा जलवायु अध्ययनमा कृत्रिम बुद्धिमत्ताको प्रयोग तीव्र रूपमा बढिरहेको बताएका छन् ।

कृत्रिम बुद्धिमत्ताबारे मस्कका अनुमान पछिल्ला वर्षमा झन् छोटिँदै आएका छन् । सन् २०१७ मा उनले सन् २०३० देखि २०४० बीच कृत्रिम बुद्धिमत्ताले मानिसलाई सबै काममा पछि पार्ने बताएका थिए । सन् २०२४ मा उनले सन् २०२५ को अन्त्यसम्म कृत्रिम बुद्धिमत्ता कुनै एक मानिसभन्दा बुद्धिमान हुने र सन् २०२६–२०२७ सम्ममा सबै डिजिटल काम तथा ज्ञानमा आधारित कार्यमा मानिसलाई उछिन्ने दाबी गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै