सिन्धुपाल्चोक । जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालित औषधि पसल, निजी स्वास्थ्य संस्था, भेटेरिनरी तथा चौतारा अस्पताल र बार्हबिसे प्राथमिक स्वास्थ्य केन्द्रको फार्मेसी लगायतको अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा मापदण्ड विपरित संचालित ५ औषधि पसल तथा २ वटा भेटनरी शिल गरिएको छ ।त्यस्तै ३ वटा औषधि पसलमा ताला लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको संयोजकत्वमा मंगलबार र बुधबार चौतारा साँगाचोकगढी नगरपालिका , बलेफी गाँउपालिका , बाह्रबिसे नगरपालिका लगायतका क्षेत्रमा अनुगमन गरिएको हो ।
अनुगमन टोलीमा औषधि व्यवस्था विभाग, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोक, उद्योग तथा वाणिज्य कार्यालय, उद्योग वाणिज्य संघ तथा सम्बन्धित स्थानीय तहका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
अनुगमनका क्रममा स्वास्थ्य संस्था तथा औषधि पसलहरू प्रचलित मापदण्डअनुसार सञ्चालन भए–नभएको, आवश्यक अनुमति तथा दर्ता भए–नभएको र स्वास्थ्य सेवा तथा औषधि बिक्रीसम्बन्धी व्यवस्थाको पालना भए–नभएको निरीक्षण गरिएको जनाइएको छ । अनुगमनका क्रममा मापदण्ड पूरा नगरेका तथा आवश्यक प्रक्रिया पूरा नगरेका औषधि पसल शिलबन्दी गरिएको छ भने केहीलाई आवश्यक सुधार तथा प्रक्रिया पूरा गर्न सचेत गरिएको जनाइएको छ ।
केहि औषधि पसल अनुगमन टोलि आएको थाहा पाएर पसल बन्द गरि भागेकोले उक्त औषधि पसलका सन्चालकलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।
जिल्लामा निजी स्वास्थ्य संस्थाहरुको जनस्वास्थ्य कार्यालय तथा औषधि व्यवस्था बिभाग र जिल्ला प्रशासन कार्यालयले औषधि पसलहरू निर्धारित मापदण्डअनुसार सञ्चालन भए–नभएको नियमित रूपमा अनुगमन गर्ने कार्यलाई निरन्तरता दिइने बताइएको छ ।









