काठमाडौं । नेपाली कांग्रेसले १८ वर्षभन्दा कम उमेरका लागि पार्टी सदस्य बन्न रोक लगाएको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले १८ बर्ष नपुगेकालाई विधान अनुसार सदस्य बन्न नसक्ने स्पष्ट गरेको हो ।
काँग्रेसको विधानमा उमेर पूरा भएको हुनुपर्ने व्यवस्था रहेकाले इलामका सुजल चापागाईंको निर्वाचित क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी स्थगित गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत इलामको माइजोगमाई गाउँपालिका–५ को वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चुनिएका चापागाईं १७ वर्ष पूरा गरी १८ वर्ष पुग्न केही महिना बाँकी रहेको विवरण प्राप्त भएपछि उनको जिम्मेवारी स्थगित गरिएको उनले बताए ।
उनका अनुसार चापागाईंको नागरिकता विवरणअनुसार आगामी माघ १८ गते १८ वर्ष पूरा हुनेछ। त्यसपछि उनले चाहेमा पार्टी सदस्यता कायम गर्न सक्ने व्यवस्था रहेको समितिले जनाएको छ ।
अन्य जिल्लाका वडा तहका निर्वाचनमा पनि १८ वर्ष उमेर नपुगेका उम्मेदवार निर्वाचित भएको पाइएमा चापागाईंको हकमा अपनाइएको प्रक्रियाअनुसार नै कार्यान्वयन गर्न समितिले जानकारी गराएको छ ।









