काठमाडौं । अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनयन भएका छन् ।
महासंघले कार्यकारिणी समिति सदस्य लिलेन्द्रप्रसाद प्रधानको सभापतित्वमा गठित समितिमा पौडेललाई उपसभापतिको जिम्मेवारी दिएको हो ।
पौडेल हाल नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका सचिव तथा अल्फा अटोमोटिभका निर्देशक छन् । उनले अटोमोबाइल व्यवसाय, बजार विस्तार तथा नीतिगत विषयमा लामो समयदेखि काम गर्दै आएका छन् ।
पौडेलले नाडामार्फत अटोमोबाइल क्षेत्रसँग सम्बन्धित कर तथा राजस्व नीति, एसेम्बली उद्योग, एमआरपी, व्यवसाय सञ्चालनको वातावरण, स्थानीय उत्पादन र पार्टपुर्जाको प्रयोगलगायत विषयमा सरकार तथा सम्बन्धित निकायसँग छलफल गर्दै आएका छन् ।
महासंघले यातायात तथा पारवहन क्षेत्रका चुनौती समाधान, व्यापार सहजीकरण र नीतिगत विषयमा निजी क्षेत्रको धारणा प्रभावकारी रूपमा प्रस्तुत गर्न पौडेलको अनुभव उपयोगी हुने अपेक्षा गरेको छ ।









