काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदमा काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा बढ्ने विद्युत् माग व्यवस्थापनका लागि तयारी थालेको छ ।
हिउँदमा विद्युत् माग र आपूर्ति व्यवस्थापनका विषयमा मंगलबार आयोजित बैठकले आवश्यक अध्ययन तथा कामलाई तीव्रता दिने निर्णय गरेको हो ।
रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण त्यस क्षेत्रमा सञ्चालित जलविद्युत् आयोजनामा क्षति पुगेर उत्पादन बन्द भएपछि आगामी हिउँदको विद्युत् व्यवस्थापनका लागि तयारी अघि बढाइएको हो । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा आयोजना व्यवस्थापन तथा प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक, विभिन्न विभागका प्रमुख र आयोजना प्रमुख सहभागी थिए ।
बैठकले हिउँदको विद्युत् माग व्यवस्थापनका लागि आवश्यक अध्ययन र काम अघि बढाउन बागमती प्रादेशिक कार्यालयका निर्देशकको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । समितिलाई दैनिक कार्यप्रगति विवरण कार्यकारी निर्देशकसमक्ष पेस गर्न तथा कामका क्रममा देखिएका समस्या तत्काल जानकारी गराउन निर्देशन दिइएको छ ।
कार्यकारी निर्देशक श्रेष्ठले त्रिशूली नदी बेसिनका विद्युत् केन्द्रबाट उत्पादन बन्द हुँदा विद्युत् माग र आपूर्ति व्यवस्थापनमा केही चाप परे पनि आगामी हिउँदमा विद्युत् कटौती गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । बैठकले काठमाडौं उपत्यका र आसपास निर्माणाधीन प्रसारण तथा वितरण आयोजनाको काम सम्पन्न गर्ने समयसीमा पनि तोकेको छ ।
बाढी प्रभावित नुवाकोट र रसुवामा विद्युत् आपूर्ति भरपर्दो बनाउन विभिन्न विकल्पबारे छलफल गरी आवश्यक प्रक्रिया अघि बढाउने निर्णय भएको छ । बाढीबाट क्षति पुगेको देवीघाट विद्युत् केन्द्र सञ्चालनमा ल्याउने सम्भावनाबारे स्थलगत अध्ययन गर्न टोलीसमेत परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।









